भैरहवा, फागुन १७      रुपन्देहीको राजनीतिक माहोलमा नयाँ चर्चा सुरु भएको छ। जनता समाजवादी पार्टी, नेपाल त्याग गरेका वरिष्ठ नेता कैलाश गुरुङ पुनः जनमत पार्टीमा समाहित भएका छन्। भैरहवामा आयोजित कार्यक्रममा जनमतका नेताहरूले गुरुङलाई स्वागत गर्दै पार्टीभित्र सक्रिय भूमिकामा रहने बताएका छन्। कार्यक्रममा बोल्दै गुरुङले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याउँदै जनताको मुद्दा सशक्त रूपमा उठाउने उद्देश्यले जनमत रोजेको बताउनुभयो। उहाँले राजनीति पद प्राप्तिका लागि नभई स्पष्ट लक्ष्य र सिद्धान्तका लागि हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। “जनताको आवाज प्रभावकारी रूपमा संसदसम्म पुर्‍याउन सक्ने शक्ति जनमत पार्टी हो भन्ने विश्वासका साथ म पुनः यहाँ आएको हुँ,” उहाँको भनाइ थियो। उक्त कार्यक्रममा सहभागी नेताहरूले गुरुङको अनुभव र संगठनात्मक क्षमता रुपन्देहीसहित लुम्बिनी प्रदेशभर पार्टी विस्तारमा उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।

निर्वाचन नजिकिँदै गर्दा जनमत पार्टीले संगठन सुदृढीकरण र जनसम्पर्क अभियानलाई प्राथमिकतामा राखेको छ। गुरुङको पुनरागमनलाई रुपन्देहीको चुनावी समीकरणमा अर्थपूर्ण परिवर्तनका रूपमा विश्लेषण गरिएको छ। स्थानीय तहदेखि प्रतिनिधि सभासम्म प्रतिस्पर्धा बढिरहेका बेला यस घटनाले कस्तो प्रभाव पार्छ भन्ने चासो राजनीतिक वृत्तमा बढ्दै गएको छ।