लुम्बिनी, फागुन १४ फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–५ मा चुनावी गतिविधि दिनानुदिन तीव्र बन्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरू टोल–टोलमा पुगेर घरदैलो, अन्तरक्रिया तथा भेटघाट कार्यक्रममार्फत मतदातासँग जोडिन व्यस्त देखिन्छन्।यस क्रममा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश यादवले पनि आफ्नो अभियानलाई तीव्रता दिँदै विभिन्न वडामा प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गरिरहेका छन्।

उहाँले अघिल्लो कार्यकालमा पार्टीले खेलेको भूमिकाबारे जानकारी दिँदै आगामी योजनाहरू सार्वजनिक गरिरहनुभएको छ। मतदाताका समस्या र सुझावलाई नजिकबाट सुन्दै उहाँले जनचासोका विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यादवले आफ्नो चुनावी एजेन्डामा पिछडिएका समुदायको उत्थान, कन्या शिक्षाको प्रवर्द्धन र स्थानीय पूर्वाधार विकासलाई मुख्य मुद्दाका रूपमा अघि सार्नुभएको छ।

साथै बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, शान्ति–सुरक्षा सुदृढ गर्ने तथा सामाजिक सद्भाव कायम राख्ने योजना पनि प्रस्तुत गर्नुभएको छ। त्यस्तै मधेशी, मुस्लिम र दलित समुदायको जीवनस्तर उकास्ने, कृषकलाई समयमै मल–बिउ उपलब्ध गराउने, सिँचाइ प्रणाली विस्तार गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा तथा प्राविधिक शिक्षामा पहुँच बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। यादवले घरदैलो कार्यक्रमका क्रममा मतदाताबाट सकारात्मक सुझाव र समर्थन प्राप्त भइरहेको दाबी गर्नुभएको छ।

