भैरहवा, चैत ३
ओमसतिया गाउँपालिका–५ अन्तर्गत गौरी, भेलाई र लक्ष्मीपुरका बासिन्दाले उद्योगबाट निस्किने फोहोरका कारण वातावरण तथा जनस्वास्थ्यमा असर परेको भन्दै शान्तिपूर्ण आन्दोलन गरेका छन्। स्थानीयका अनुसार माया तेल उद्योग बाट निस्किने तेलीय फोहोर तथा कालो, दुर्गन्धयुक्त तरल पदार्थ बिना प्रशोधन सिधै सार्वजनिक कुलोमा बगाइँदै आएको छ। उक्त कुलो किसानका लागि सिँचाइको मुख्य स्रोत मात्र नभई बस्ती वरपरको पानी निकास र वर्षायाममा अन्य क्षेत्रमा बग्ने प्रमुख माध्यम भएकाले समस्या गम्भीर बनेको उनीहरूको भनाइ छ। प्रदूषित पानीका कारण पशुपंक्षीको स्वास्थ्यमा असर देखिन थालेको र मानव स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्न थालेको स्थानीयले बताएका छन्। दुर्गन्धका कारण दैनिक जीवन प्रभावित भएको, बालबालिकामा छाला सम्बन्धी समस्या बढेको तथा टाउको दुख्ने जस्ता लक्षण देखिएको गुनासो गरिएको छ।
स्थानीय किसान सन्देश कुमार यादवका अनुसार पहिले यही कुलोको पानी प्रयोग गरी खेतीपाती हुने गरे पनि अहिले पानी प्रदूषित भएकाले बाली नष्ट हुन थालेको छ। “पानी कालो भइसकेको छ, तेल तैरिन्छ र गन्हाउँछ, सिँचाइ गर्दा बाली सुक्ने समस्या बढेको छ,” उनले बताए। प्रदूषणको समस्यालाई लिएर आन्दोलनरत स्थानीयले स्वच्छ वातावरण, सुरक्षित खानेपानी तथा पशुधनको संरक्षण सुनिश्चित गर्न माग गरेका छन्। आन्दोलनका क्रममा उद्योग पक्षसँग छलफलसमेत भएको र उद्योग व्यवस्थापनले फोहोर व्यवस्थापन सुधार गर्ने तथा आगामी शुक्रबारसम्म स्पष्ट योजना सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। तर स्थानीयले तोकिएको समयभित्र प्रभावकारी सुधार नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। नेपालको वातावरण संरक्षण ऐन २०७६ अनुसार उद्योगहरूले फोहोर प्रशोधन गरी वातावरणमैत्री रूपमा व्यवस्थापन गर्नुपर्ने प्रावधान भए पनि सो उद्योगले नियम पालना नगरेको आरोप स्थानीयले लगाएका छन्।
स्थानीयवासीले सम्बन्धित निकायसँग प्रभावकारी अनुगमन, अनिवार्य प्रशोधन प्रणाली जडान, प्रभावित क्षेत्रमा प्रदूषण नियन्त्रणको ठोस योजना, स्वास्थ्य तथा वातावरणीय प्रभावको अध्ययन र दोषीमाथि कारबाही गर्न माग गरेका छन्। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनलाई अझ सशक्त बनाउने उनीहरूको चेतावनी छ।

