काठमाडौं, फागुन ४ निर्वाचन प्रचारप्रसारका लागि आवश्यक आर्थिक कारोबार पारदर्शी बनाउन बैंक खाता अनिवार्य गरिए पनि हालसम्म ६ सय ७१ जना उम्मेदवारले मात्रै खाता खोलेका छन्। कुल ३ हजार ४ सय ६ उम्मेदवारमध्ये करिब २० प्रतिशतले मात्र बैंक खाता सञ्चालनमा ल्याएको निर्वाचन आयोग, नेपालका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगले दल तथा उम्मेदवारले प्रचार खर्च बैंक खातामार्फत मात्रै गर्ने व्यवस्था लागू गरिसकेको छ। प्रवक्ता भट्टराईका अनुसार आयोगको आग्रहमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उम्मेदवारका लागि खाता खोल्ने कार्य सहजीकरण गर्न परिपत्र जारी गरेको छ। सोहीअनुसार देशभर खाता खोल्ने प्रक्रिया जारी रहेको छ। खाता खोल्न बाँकी उम्मेदवारले भोगिरहेका अप्ठ्याराबारे बैंकहरूबाट विवरण संकलन गरी आयोगले आवश्यक समन्वय र सहजीकरण गर्ने तयारी गरेको उहाँले बताउनुभयो।

खोलिएका खाताको प्रयोग विधि, व्यवस्थापन प्रक्रिया तथा बैंकहरूको भूमिकाबारे स्पष्ट पार्न आयोगले सोमबार सरोकारवालासँग छलफल गरेको थियो। उक्त बैठकमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर र अर्थ मन्त्रालयका सम्बन्धित सहसचिवको पनि सहभागिता रहेको जनाइएको छ। बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन लागू गरिएको प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वित्तीय सुशासन सुदृढ गर्ने उद्देश्यले लागू गरिएको व्यवस्थामा आयोगलाई आवश्यक सहयोग रहने विश्वास व्यक्त गरिएको छ। यसै क्रममा आयोगले मतदाता शिक्षालाई प्रवर्द्धन गर्न बैंक तथा वित्तीय संस्थाका मोबाइल एप, एटीएम र अन्य डिजिटल डिस्प्ले माध्यममार्फत मतदाता शिक्षा सामग्री प्रसारण गर्न अनुरोध गरेको छ। उक्त पहलप्रति बैंकहरू सकारात्मक रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।

