भैरहवा, फागुन २७
रुपन्देहीमा पछिल्लो समय देखिएको पकाउने ग्यासको अभाव र खाद्यान्न सामग्रीको मूल्यवृद्धिप्रति चिन्ता व्यक्त गर्दै नागरिक सरोकार मञ्च नेपाल ले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको ध्यानाकर्षण गराएको छ। मञ्चका अध्यक्ष आनन्द प्रसाद गुप्ता ले बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै जिल्लाका विभिन्न बजार क्षेत्रमा पकाउने ग्यासको आपूर्ति कम भएको र उपभोक्ताहरूले समस्या भोग्न थालेको उल्लेख गर्नुभएको हो। उहाँका अनुसार फागुन २१ गते सम्पन्न निर्वाचनपछि बजारमा ग्यासको उपलब्धता झन् घटेको गुनासो उपभोक्ताबाट आउन थालेको छ। केही स्थानमा भने ग्यास बढी मूल्यमा लुकिछिपी बिक्री भइरहेको भन्ने जानकारी पनि प्राप्त भएको उहाँले बताउनुभयो। ज्ञापनपत्रमा बजारमा केही खाद्यान्न सामग्रीको मूल्यसमेत बढाइएको भन्ने समाचार तथा उपभोक्ताबाट आएका गुनासोको उल्लेख गर्दै तत्काल प्रभावकारी बजार अनुगमन गर्न प्रशासनसँग आग्रह गरिएको छ। मञ्चले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा उपभोक्तालाई अनावश्यक रूपमा दुःख दिने कार्यलाई नियन्त्रण गर्न कडा कदम चाल्न प्रशासनलाई आग्रह गरेको छ। साथै पकाउने ग्याससहित दैनिक उपभोग्य सामग्री सहज र उचित मूल्यमा उपलब्ध हुने वातावरण सुनिश्चित गर्न पनि माग गरिएको छ।