नवलपरासी, फागुन ८   टाटी—खर र बाँसले बनाइएका कच्ची घर—मा बस्दै आएका पाल्हीनन्दन गाउँपालिकाका विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने योजना आफ्नो पहिलो प्राथमिकता रहेको भीमबहादुर थापा (भरत)ले बताएका छन्। नेपाली कांग्रेस का तर्फबाट नवलपरासी जिल्ला निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार थापाले पाल्हीनन्दनका विभिन्न वडामा सञ्चालन गरिएको घरदैलो अभियानका क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन्। घर–घरमा पुगेर स्थानीयसँग संवाद गर्दै थापाले घामपानीबाट समेत राम्रोसँग जोगिन नसक्ने अवस्थाका घरहरू देख्दा आफू संवेदनशील बनेको बताए। आर्थिक अभावका कारण सुरक्षित बसोबासको व्यवस्था गर्न नसकेका परिवारका लागि राज्यको तर्फबाट योजनाबद्ध सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

“हरेक नागरिकको आफ्नै सुरक्षित घरको सपना हुन्छ। तर यहाँ धेरै परिवार अझै पनि वर्षात् र चर्को घामबाट जोगिन संघर्ष गरिरहेका छन्,” थापाले भने, “वास्तविक विपन्नको पहिचान गरेर उनीहरूका लागि व्यवस्थित आवास निर्माण कार्यक्रम अघि बढाउनु मेरो पहिलो प्रतिबद्धता हो।”अभियानका क्रममा स्थानीयले करिब दुईदेखि तीन हजार परिवार अझै पनि बाँस र खरले छाएको कच्ची घरमा बसोबास गरिरहेको जानकारी गराएका थिए। त्यसलाई ध्यानमा राख्दै थापाले शहरी विकास मन्त्रालयसँग समन्वय गरी चरणबद्ध रूपमा सुरक्षित आवास कार्यक्रम लागू गर्ने योजना रहेको बताए। यसअघि सुनवल नगरपालिका को मेयर रहँदा आफूले ‘खरमुक्त घर अभियान’ सुरु गरेको स्मरण गर्दै थापाले झन्डै दुई सय घर सुरक्षित आवासमा रूपान्तरण गरिएको अनुभव सुनाए।

“आवास कार्यक्रम कार्यान्वयनका प्रक्रिया र चुनौतीबारे मलाई व्यावहारिक अनुभव छ,” उनले भने, “त्यही अनुभवलाई पाल्हीनन्दनमा उपयोग गर्दै विपन्न समुदायको जीवनस्तर उकास्ने काम पूरा गरेरै छाड्छु।” चुनावी माहोलसँगै पाल्हीनन्दन क्षेत्रमा विकास र आधारभूत आवश्यकताका मुद्दा प्रमुख एजेन्डाका रूपमा उठिरहेका छन्। स्थानीयवासी भने यसपटक सुरक्षित आवाससहित ठोस कार्ययोजनालाई प्राथमिकतामा राखेर नेतृत्व चयन गर्ने तयारीमा देखिएका छन्।