मर्चवार, फागुन १७ जनमत पार्टीले रुपन्देही–४ अन्तर्गत मझगावामा बृहत् आमसभा आयोजना गर्दै आफ्नो चुनावी उपस्थिति प्रभावशाली रूपमा देखाएको छ। कार्यक्रममा हजारौं युवा, किसान र स्थानीयवासी सहभागी भई उम्मेदवार भोपेन्द्र प्रसाद यादवप्रति समर्थन जनाएका थिए। सभालाई सम्बोधन गर्दै यादवले आफ्ना कार्यक्रमहरू शान्तिपूर्ण रूपमा अघि बढाउँदा पनि प्रशासनिक दबाब सिर्जना गरिएको आरोप लगाउनुभयो। “आज मर्चवारका नागरिकले देखाइदिनुभयो, परिवर्तनको आवाज दबाएर दबिँदैन,” उहाँले भन्नुभयो।

उहाँले कृषकका समस्यालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउँदै प्रत्येक वडामा मल भण्डारण केन्द्र स्थापना, सीमावर्ती क्षेत्रमा किसानले भोग्दै आएका झन्झटको अन्त्य तथा मर्चवार लिफ्ट सिँचाइ आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना प्रस्तुत गर्नुभयो। साथै कृषकलाई विद्युत् महसुलमा सहुलियत दिने विषय पनि आफ्नो एजेन्डामा रहेको बताउनुभयो। स्थानीय बासिन्दा श्रीराम यादवका अनुसार आमसभामा देखिएको उत्साहले पुराना शक्तिहरूलाई चुनौती दिएको संकेत गरेको छ। युवाहरू ‘हर्न’ चुनाव चिह्न अंकित सामग्रीसहित सक्रिय रूपमा सहभागी भएका थिए। यसअघि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका आशुतोष मिश्र र जनता समाजवादी पार्टी, नेपालका सर्वेन्द्रनाथ शुक्लाबीच हुने अनुमान गरिए पनि जनमत पार्टीले यसपटक आफूलाई सशक्त दाबेदारका रूपमा प्रस्तुत गरेको छ।
अघिल्लो निर्वाचनको सन्दर्भ – २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित हुनुभएको थियो। त्यसबेला कांग्रेसका प्रमोद कुमार यादव दोस्रो तथा जनमतका भोपेन्द्र यादव तेस्रो स्थानमा रहनुभएको थियो। समानुपातिक मत परिणामअनुसार लोकतान्त्रिक समाजवादी पार्टीले २२ हजार ३७, कांग्रेसले १८ हजार ८३२, जनमतले १६ हजार ४५८, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २ हजार ८२३ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ६५७ मत प्राप्त गरेका थिए। यसपटक एमालेले कांग्रेस नेता प्रमोद यादवलाई पार्टीमा प्रवेश गराई उम्मेदवार बनाएको छ भने रास्वपाबाट कन्हैया बनियाँ चुनावी मैदानमा उत्रिएका छन्। दुवै उम्मेदवारले अन्तिम समयमा दल परिवर्तन गरेका हुन्।जनमतका राष्ट्रिय सचिवसमेत रहेका यादवले अघिल्लो पटक तेस्रो स्थानमा सीमित भए पनि यसपटक जनसमर्थन उल्लेख्य रूपमा बढेको दाबी गर्नुभयो। “मैले वर्षौंदेखि क्षेत्रमा निरन्तर काम गरिरहेको छु, जनविश्वास अहिले मजबुत भएको छ,” उहाँको भनाइ थियो।
उता पूर्वमन्त्री शुक्ला भने २०४८ सालदेखि निरन्तर चुनाव लड्दै यसपटक आठौं प्रयासमा हुनुहुन्छ। उहाँले विगतमा गरेका विकासकार्य नै आफ्नो जितको आधार हुने बताउनुभएको छ। क्षेत्रको सामाजिक–राजनीतिक चित्र मधेशी समुदायको बाहुल्यता रहेको यो क्षेत्र भारत सीमासँग जोडिएको छ। मर्चवारीमाई, कोटहीमाई र सम्मरीमाई गाउँपालिका पूर्ण रूपमा तथा मायादेवी र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडा यस क्षेत्रमा समेटिएका छन्। करिब १ लाख १६ हजारभन्दा बढी मतदाता रहेको यस निर्वाचन क्षेत्रमा २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन मिति नजिकिँदै जाँदा रुपन्देही–४ को चुनावी वातावरण दिनदिनै थप रोचक र प्रतिस्पर्धात्मक बन्दै गएको छ।

