धकधई , फाल्गुन २ नागरिक उन्मुक्ति पार्टी नेपाल, रुपन्देही क्षेत्र नं. १ अन्तर्गत रोहिणी गाउँपालिका वडा नं. ३ धकधईमा सम्पर्क कार्यालय उद्घाटन गर्दै महासचिव डा. उमाशंकर प्रसाद चौधरीले मुट्ठीभर शासक समुदायले दुई तिहाइ उत्पीडित समुदायमाथि शासन गरिरहेको र सबै मधेसी, मुस्लिम, आदिवासी जनजाति लगायतका समुदायको पहिचान र संस्कृतिमाथि सुनियोजित रूपमा अधिकार हनन गर्दै देशमा लुटतन्त्र मच्चाइएको अवस्था रहेको बताउनुभयो।

उहाँले पहिचानवादी शक्तिका उम्मेदवारहरूलाई आगामी निर्वाचनमा ‘चकिया (जाँतो)’ चुनाव चिह्नमा मतदान गरी भौगोलिक तथा सांस्कृतिक पहिचानसहितको संघीयता तथा समुदायमा आधारित समाजवाद सुनिश्चित गर्न आग्रह गर्नुभयो। सोही कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामू यादवले सदियौँदेखि दमन, उत्पीडन र अन्यायमा परेका तथा राज्यद्वारा सुनियोजित रूपमा पछाडि पारिएका सबै उत्पीडित समुदायहरू एकजुट भई संगठित रूपमा अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भ्रष्टाचार गरी देशलाई डुबाउने शासक वर्गलाई आफ्नो अमूल्य मतबाट सत्ता च्युत गरी उत्पीडित समुदायको नेतृत्वमा देशको शासनसत्ता नयाँ ढंगबाट सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, पार्टीकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार किरन गुप्ताले महिलाहरूको अधिकार सुनिश्चित गर्दै देशमा सुशासन, सामाजिक न्याय र समानताको अधिकार स्थापना गरी राष्ट्रलाई समृद्ध बनाउने लक्ष्य रहेको बताउनुभयो। उहाँले पार्टीका संरक्षक रेशमलाल चौधरीसँग स्पष्ट मार्गचित्र (रोडम्याप) रहेको उल्लेख गर्दै नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवारहरूलाई बहुमतका साथ विजयी गराउन आग्रह गर्नुभयो।

कार्यक्रममा समानुपातिक उम्मेदवार राज किशोर हरिजन र केन्द्रीय सदस्य नर्सिङ चौधरी, जिल्ला अध्यक्ष विजयबहादुर चौधरीलगायतका नेताहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष रामकुमार थारुको अध्यक्षता, विनिता चौधरीको सञ्चालन तथा धनराज चौधरीको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो।