भैरहवा, चैत ५
सिद्धार्थनगर नगरपालिका ले दीर्घकालीन फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहोर वर्गीकरण अनिवार्य गर्ने निर्णय सार्वजनिक गरेको छ। नगरपालिकाले आगामी चैत १७ गतेसम्म सबै घरपरिवार, व्यवसाय, होटल, विद्यालय तथा विभिन्न संस्थालाई फोहोर छुट्याएर व्यवस्थापन गर्न आग्रह गरेको हो। नगर कार्यपालिकाको निर्णयअनुसार तोकिएको समयसीमाभित्र फोहोर वर्गीकरण नगरे चैत १८ गतेदेखि त्यस्तो फोहोर संकलन नगर्ने व्यवस्था लागू गरिनेछ। प्रमुख प्रशासकीय अधिकृत जनक थापाका अनुसार कुहिने (जैविक) र नकुहिने (अजैविक) फोहोर छुट्याएर राख्न नगरवासीलाई निर्देशन दिइएको छ।

जैविक फोहोरमा भान्साबाट निस्कने अवशेष, भात, दाल, तरकारी, फलफूलका बोक्रा, सागसब्जी, घाँस तथा चिया–कफीका बाँकी पदार्थ पर्दछन्। त्यस्तै अजैविक फोहोरमा प्लास्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री, विद्युतीय उपकरणका टुक्रा, सिसा, काँच, धातु तथा टिनजन्य सामग्री समावेश गरिएका छन्। नगरपालिकाले सार्वजनिक स्थान, सडक तथा पेटीमा जथाभाबी फोहोर फालेमा कानुनी कारबाहीसहित न्यूनतम ५ हजार रुपैयाँ जरिवाना लाग्ने चेतावनी दिएको छ। साथै वर्गीकरण नगरेको फोहोर नगरपालिकाले नउठाउने भएकाले त्यसको व्यवस्थापन सम्बन्धित व्यक्ति वा संस्थाले स्वयं गर्नुपर्नेछ। १३ वडा समेटिएको नगरपालिकाले सबै नगरवासी, व्यवसायी, शैक्षिक संस्था तथा सङ्घ–संस्थालाई फोहोर व्यवस्थापन अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।