नवलपरासी, फागुन १५      नेपाली कांग्रेसका उम्मेदवार भिमबहादुर थापा (भरत) यतिबेला नवलपरासी–२ मा चुनावी प्रचारप्रसारमा व्यस्त रहँदै सरावल गाउँपालिकाका बस्ती–बस्तीमा घरदैलो अभियानमा जुटिरहनु भएको छ। उहाँले प्रत्यक्ष भेटघाटमार्फत स्थानीयको समस्या सुन्ने र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अभियानलाई तीव्रता दिनुभएको छ। शुक्रबार सरावल गाउँपालिका वडा नं. १, २ र ३ मा सम्पन्न घरदैलोमा स्थानीयले आधारभूत आवश्यकतालाई प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गर्दै स्पष्ट सन्देश दिनुभयो—“पहिले पानी, त्यसपछि पुर्जा र सडक।” वडा नं. ३ का जनकपुर र हुलाकी टोलका बासिन्दाले सुरक्षित पिउने पानीको अभाव अझै कायम रहेको गुनासो गर्नुभयो।

स्थानीय खेमलाल चौधरीका अनुसार खानेपानी टंकी निर्माण भएको ३–४ वर्ष बितिसक्दा पनि पाइप विस्तार नहुँदा धेरै घरधुरी अझै धारा विहीन छन्। “टंकी त बन्यो, तर पानी घरसम्म आएन,” उनले बताउनुभयो। बिपन्न र ग्रामीण बस्तीमा अझै धेरै परिवार सुरक्षित पानीबाट वञ्चित छन्, जसले स्वास्थ्य र दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेको स्थानीयको भनाइ छ। हुलाकी टोलकी यमकली क्षेत्रीले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा राज्य सेवा–सुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरिन्। “लालपुर्जा नहुँदा खानेपानी, विद्युत् र सडक योजना पनि सहजै लागू हुँदैनन्,” उनले उल्लेख गरिन्। वडा नं. २ का जितेन्द्र हरिजनले कच्ची सडक अझै कालोपत्रे नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। वर्षायाममा हिलो र खाल्डाखुल्डीका कारण आवतजावत कठिन भएको छ। भित्री सडकहरूको स्तरोन्नति नहुँदा शिक्षा, स्वास्थ्य र बजारसम्म पहुँचमा समस्या भइरहेको स्थानीयको साझा भनाइ रह्यो।

उठेका समस्याप्रति ध्यान दिँदै उम्मेदवार थापाले आफू क्षेत्रका वास्तविक अवस्था बुझेको र निर्वाचित भए आधारभूत आवश्यकताबाट वञ्चित नागरिकको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शुद्ध पानीको पहुँच, भूमिसम्बन्धी समस्या समाधान र सडक पूर्वाधारको गुणस्तरीय विकास सुनिश्चित गर्ने दाबी गर्नुभयो। नवलपरासी–२ अन्तर्गत सरावल क्षेत्रका मतदाताले अब राजनीतिक भाषणभन्दा बढी परिणाममुखी कामको अपेक्षा राखेका छन्। शुद्ध पानी, लालपुर्जा, गुणस्तरीय शिक्षा र सडक स्तरोन्नति जस्ता आधारभूत आवश्यकता पूरा गर्न सक्ने नेतृत्वले मात्र क्षेत्रको दीर्घकालीन विकास र निर्वाचन परिणाममा प्रभाव पार्ने देखिन्छ।