भैरहवा, फागुन २ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका–८ कान्छीबजार घर भई हाल वडा नं. १२ आवारोड बस्दै आएका ४० वर्षीय विशाल प्रताप राणा, वडा नं. ७ भैरहवागाउँका २२ वर्षीय अरबाज मुसलमान तथा कैलालीको घोडाघोडी नगरपालिका–१ पहलमानपुरका २८ वर्षीय विकासबहादुर सिंह ठकुरी रहेका छन्।

प्रहरीका अनुसार लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले पुस २१ गते साँझ करिब ७ बजे वडा नं. १२ आवारोड क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट करिब एक किलो गाँजा, १०० ग्राम चरेस, तीन थान मोबाइल र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

