भैरहवा, फागुन ११     नेपाली कम्युनिस्ट पार्टी का तर्फबाट रुपन्देही–३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार फैज अहमद खाँन ले स्थानीय विकास निर्माणमा देखिएको अनियमितता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आइतबार सिद्धार्थनगर नगरपालिका–३ मा घरदैलो अभियानका क्रममा मतदातासँग भेटघाट गर्दै उहाँले जनगुनासा सुन्दै क्षेत्रको समग्र रूपान्तरण गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो।

उहाँले भैरहवादेखि करिब २१ किलोमिटर दूरीमा रहेको लुम्बिनी तथा आसपासका क्षेत्रको थप सौन्दर्यीकरण गरी पर्यटकलाई लामो समय बस्न आकर्षित गर्ने वातावरण बनाउने योजना रहेको उल्लेख गर्नुभयो। साथै, सुनौली–बेलहिया नाका बाट नेपाल प्रवेश गर्ने बित्तिकै सीमावर्ती क्षेत्र, भैरहवा र लुम्बिनीतर्फ जाने सडक आसपास सरसफाइ, हरियाली प्रवर्द्धन र आधारभूत पूर्वाधार सुदृढ गरी पर्यटकमैत्री वातावरण निर्माण गरिने उहाँको भनाइ थियो।

स्थानीय व्यवसाय, होटल तथा हस्तकला क्षेत्रलाई पर्यटनसँग आबद्ध गर्दै उद्यमशीलता र रोजगारीका अवसर विस्तार गर्ने योजना पनि उहाँले अघि सार्नुभयो। मतदातालाई सम्बोधन गर्दै खाँनले विगतमा विभिन्न प्रतिनिधिलाई अवसर दिइसकेको उल्लेख गर्दै यसपटक आफूलाई विश्वासका साथ समर्थन गर्न आग्रह गर्नुभयो। “अवसर पाए काम गरेर देखाउनेछु,” उहाँले भन्नुभयो। पर्यटन प्रवर्द्धनमार्फत आर्थिक गतिविधि विस्तार गरी रुपन्देही–३ को समग्र विकास आफ्नो मुख्य उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो।