भैरहवा, फागुन ७ रुपन्देही–३ का प्रतिनिधिसभा उम्मेदवार फैज अहमद खाँनले कृषिलाई विकासको आधार स्तम्भका रूपमा अघि सार्दै सिँचाइ अभाव समाधान नभएसम्म राजनीतिक प्रतिबद्धता अर्थपूर्ण नहुने बताएका छन्। घरदैलो अभियानअन्तर्गत बिहीबार सिद्धार्थनगर नगरपालिका–१ का ग्रामीण बस्तीमा मतदातासँग संवाद गर्दै उनले खेतसम्म पानी नपुगे नीति, योजना र नाराले मात्रै किसानको अवस्था नबदलिने धारणा राखे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग आबद्ध खाँनले नेपाललाई कृषि प्रधान देश भनिए पनि धेरै किसान अझै वर्षामा निर्भर रहनुपरेको उल्लेख गरे। उनका अनुसार दीर्घकालीन सिँचाइ संरचना निर्माण नगरी उत्पादन वृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन। बोरिङ, ट्युबवेल, नहर मर्मत तथा वर्षा पानी संकलन प्रणाली विस्तारलाई प्राथमिकतामा राखेर खेत–खेतमा स्थायी सिँचाइ सुविधा पुर्याउने प्रतिबद्धता उनले व्यक्त गरे।

मल र बीउको नियमित अभाव किसानका लागि अर्को ठूलो चुनौती भएको बताउँदै खाँनले समयमै गुणस्तरीय मल, उन्नत बीउ र आधुनिक कृषि उपकरण उपलब्ध गराउने योजना सुनाए। कम लागतमा बढी उत्पादन सम्भव भए पनि त्यसका लागि प्रविधि, तालिम र राज्यको सहयोग अपरिहार्य हुने उनको भनाइ थियो। आफू किसान परिवारबाट आएको उल्लेख गर्दै उनले कागजी योजनाभन्दा व्यवहारिक र माटोमै आधारित कृषि नीति लागू गर्ने अठोट व्यक्त गरे। उत्पादन भएर पनि बजार अभावका कारण किसान घाटामा पर्ने अवस्था अन्त्य गर्न समर्थन मूल्य निर्धारण, स्थानीय संकलन केन्द्र स्थापना र बिचौलियामाथि निगरानी कडाइ गरिने योजना अघि सारिएको छ।

परम्परागत खेतीसँगै नगदे बाली प्रवर्द्धन, कृषि तालिम, प्राविधिक सेवा विस्तार र प्रभावकारी बजारीकरणमार्फत रुपन्देही–३ लाई प्रविधिमैत्री तथा आत्मनिर्भर कृषि क्षेत्र बनाउने लक्ष्य रहेको उनले बताए। चुनावपछि कृषकको भविष्य सुरक्षित हुने वातावरण निर्माणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

