काठमाण्डौ, फागुन ११     निर्वाचन आयोग नेपाल ले चुनावी प्रचारका क्रममा निर्वाचन चिह्नको भौतिक प्रतिरूप प्रयोग गर्न नपाइने निर्णय गरेको छ। पछिल्ला दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले घण्टी बजाउँदै प्रचार गरेको विषयमा आचारसंहिता उल्लंघनसम्बन्धी गुनासो बढेपछि आयोगले स्पष्ट निर्देशन जारी गरेको हो। आयोगद्वारा जारी विज्ञप्तिमा राजनीतिक दल वा उम्मेदवारले तोकिएको मापदण्डअनुसार कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएका चुनाव चिह्न प्रयोग गरेर प्रचार गर्न सक्ने उल्लेख छ।

तर धातु, काठ वा अन्य कडा सामग्रीबाट तयार गरिएका चिह्न बोकेर वा प्रदर्शन गरेर प्रचार गर्दा सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने भन्दै त्यस्तो अभ्यास नगर्न आग्रह गरिएको छ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२’ मा सहभागी दल तथा उम्मेदवारलाई लक्षित गर्दै आयोगले सर्वसाधारणको सुरक्षामा असर पुग्ने खालका भौतिक संरचनायुक्त चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ।

साथै, निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ (ड) अनुसार दलको झन्डा र स्वीकृत ढाँचामा रहेका चुनाव चिह्नमार्फत मात्र प्रचारप्रसार गर्नुपर्ने स्पष्ट पारिएको छ। निर्देशन विपरीत गतिविधि गरेको पाइएमा आचारसंहिता उल्लंघन ठहरिने आयोगले चेतावनी दिएको छ।