भैरहवा, फागुन ४     जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रीनिवास यादव नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्नुभएको छ। सोमबार भैरहवामा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भूमिश्वर ढकाल, गुमादेवी आचार्यलगायत नेताहरूले उनलाई पार्टीमा स्वागत गर्नुभएको हो। यादवले प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान राष्ट्रिय परिस्थितिमा राजनीतिक स्थायित्व र मुलुकको निकासका लागि एमाले नै उपयुक्त शक्ति रहेको निष्कर्षमा पुगेर जसपा नेपालको साधारण सदस्यतासहित सबै जिम्मेवारी त्याग गरेको घोषणा गर्नुभएको छ। उम्मेदवारी दर्तापछि आफू रुपन्देही–३ का मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै उहाँले जनभावना र देशको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ निर्णय लिएको स्पष्ट पार्नुभएको छ।

कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले यादवको आगमनले रुपन्देही–३ मा एमालेको विजय सम्भावना थप मजबुत भएको दाबी गर्नुभयो। उहाँले २०७९ सालमा पाँचमध्ये तीन क्षेत्रमा जित हासिल गरेको एमालेले यसपटक सबै क्षेत्रमा सफलता हात पार्ने विश्वास व्यक्त गर्नुभयो। रुपन्देही–३ का एमाले उम्मेदवार बासुदेव घिमिरेले देशको विकास र समृद्धिका लागि एमाले नै निर्णायक शक्ति भएको जिकिर गर्दै यादवको प्रवेशले पार्टी थप सशक्त बनेको बताउनुभयो। क्षेत्र नं. ४ का उम्मेदवार प्रमोद कुमार यादवले जिल्लाका सबै क्षेत्रमा एमाले उम्मेदवारलाई विजयी गराउन आह्वान गर्नुभयो। एमाले रुपन्देहीका जिल्ला अध्यक्ष यज्ञ गैरेले पार्टीमा प्रवेश गरेका यादवलाई उपयुक्त जिम्मेवारी दिइने जानकारी दिनुभयो भने जिल्ला उपाध्यक्ष हितराज पन्थीले पनि एमाले मुलुकको प्रमुख राजनीतिक शक्ति भएको दाबी गर्नुभयो।