भैरहवा, फागुन ८      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी प्रदेशका विभिन्न जिल्लालाई समेट्दै शनिबार भैरहवामा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्ने तयारी गरेको छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै गर्न लागिएको उक्त कार्यक्रममा ठूलो जनसहभागिता अपेक्षा गरिएको आयोजक पक्षले जनाएको छ। कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक सन्तोष गिरीले सभालाई व्यवस्थित, अनुशासित र सन्देशमुखी ढंगले सञ्चालन गरिने बताए। उनका अनुसार सिद्धार्थनगर–८ स्थित अञ्चलपुर खुला मैदानमा सभा आयोजना हुनेछ र करिब ८० हजारभन्दा बढी मानिस अट्ने गरी पूर्वतयारी गरिएको छ। भीड व्यवस्थापनलाई प्राथमिकतामा राख्दै प्रवेश तथा निर्गमन मार्ग, मञ्च संरचना, ध्वनि प्रणाली र आकस्मिक अवस्थाका लागि छुट्टै मार्गसमेत तय गरिएको गिरीले जानकारी दिए। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय भइसकेको तथा स्वास्थ्य सहायता टोली र एम्बुलेन्स तयारी अवस्थामा रहने जनाइएको छ।

रास्वपाले अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी (पश्चिम), कपिलवस्तु र रुपन्देही जिल्लाबाट नेता–कार्यकर्ता तथा समर्थकलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। जिल्ला स्तरमा यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन र जिम्मेवारी बाँडफाँट गरिसकिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई लामो भाषणभन्दा छोटो र प्रभावकारी बनाउने योजना रहेको बताउँदै संयोजक गिरीले करिब दुई घण्टाभित्र सभा सम्पन्न गर्ने लक्ष्य राखिएको उल्लेख गरे। सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहसहित विभिन्न उम्मेदवारले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

आयोजकका अनुसार यो कार्यक्रम केवल शक्ति प्रदर्शनका लागि नभई ‘जनता केन्द्रित राजनीति’को सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको हो। पुरानो राजनीतिक शैलीबाट फरक अभ्यास प्रस्तुत गर्दै नयाँ राजनीतिक संस्कृतिको सुरुआत गर्ने दाबी रास्वपाले गरेको छ।