परासी, फागुन ६    नवलपरासीमा चुनावी कार्यक्रमका क्रममा उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। घटना बर्दघाट नगरपालिका–१२, जमुनिया बजारमा भएको प्रचार अभियानका बेला भएको हो। प्रहरीका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आयोजना गरेको कार्यक्रममा केही व्यक्तिहरू अचानक पुगेका थिए। उनीहरूले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक बताउँदै कार्यक्रमस्थलमा विवाद सिर्जना गरेको र त्यसक्रममा हातपात भएको जनाइएको छ। घटनामा संलग्न भनिएका तीन जनामध्ये एक जना पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–१३ का ३१ वर्षीय अजय गौतम रहेका छन्। उनीमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको र घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ। कुटपिटबाट माओवादीका उम्मेदवार राजुप्रसाद हरिजनसहित क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। उम्मेदवार हरिजनले आफूहरू प्रचारप्रसारमा संलग्न रहेका बेला ‘घण्टी’ चुनाव चिह्नको क्षेत्रमा प्रवेश गरेको आरोप लगाउँदै आक्रमण गरिएको दाबी गरेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।