काठमाडौँ, फागुन १२ बालेन्द्र शाहले उद्योग स्थापना गर्दा राजनीतिक पहुँच खोज्नुपर्ने र सञ्चालनका क्रममा चन्दा तिर्नुपर्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका शाहले आज इटहरीमा आयोजित पार्टी कार्यक्रममा बोल्दै देशमा उद्योगमैत्री वातावरण निर्माण गर्ने आफ्नो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।

पूर्वी क्षेत्रलाई देशको औद्योगिक इतिहाससँग जोडिएको महत्वपूर्ण भूभागका रूपमा उल्लेख गर्दै उहाँले विगतमा यहाँ धेरै उद्योग–कलकारखाना स्थापना भए पनि पछिल्ला वर्षहरूमा नयाँ लगानी भित्रिन नसकेको टिप्पणी गर्नुभयो। “खाने तेलदेखि मसला उत्पादनसम्मका उद्योग सञ्चालनमा छन्, तर नयाँ उद्योग खोल्न खोज्दा राजनीतिक दबाब र प्रशासनिक जटिलता झेल्नुपरेको अवस्था छ,” उहाँले भन्नुभयो, “अब यस्तो संस्कार हटाइनेछ।” उहाँका अनुसार उद्योग क्षेत्रमा पारदर्शिता, सुशासन र सहज प्रशासनिक प्रक्रिया लागू गरिनेछ, जसबाट लगानीकर्तालाई सुरक्षित र विश्वसनीय वातावरण उपलब्ध हुनेछ। आर्थिक समृद्धिको आधार उत्पादनमूलक क्षेत्र नै भएकाले त्यसलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, निजी क्षेत्रको मनोबल उच्च राख्दै रोजगारी विस्तार र स्थानीय उत्पादनको प्रवर्द्धनमा पार्टी दृढ रहेको पनि उहाँले बताउनुभयो।

