भैरहवा, फागुन १७     मोहम्मद असलम खानले प्रतिनिधि सभा सदस्यमा विजयी भए रुपन्देही–१ मा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ। जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार खानले युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउन प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार अपरिहार्य रहेको बताउनुभयो। उहाँले रोजगारीका लागि विदेशिनुपर्ने अवस्थालाई कम गर्न सीपआधारित शिक्षामा लगानी बढाउनुपर्ने धारणा राख्दै रुपन्देही–१ मै गुणस्तरीय प्राविधिक शिक्षालय स्थापना आफ्नो प्रमुख प्राथमिकता हुने उल्लेख गर्नुभयो।

घरदैलो अभियान तथा चुनावी कार्यक्रमहरूका क्रममा खानले कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग प्रवर्द्धन, सीप विकास तालिम र स्थानीय उत्पादनको बजार विस्तारमार्फत आर्थिक उन्नति सम्भव हुने योजना प्रस्तुत गर्नुभएको छ। साथै मधेशी, मुस्लिम, दलित र पछाडि परेका समुदायको शिक्षामा पहुँच बढाउन लक्षित कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँका अनुसार शिक्षा, स्वास्थ्य सेवा, सडक तथा सिँचाइ पूर्वाधार र युवा उद्यमशीलतामा केन्द्रित लगानीले क्षेत्रको समग्र विकासलाई गति दिनेछ। “शिक्षा नै दिगो विकासको आधार हो,” उहाँले भन्नुभयो, “विश्वास गरेर जिताउनुभयो भने प्रतिबद्धता व्यवहारमै उतार्नेछु।”

निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–१ मा विकास र रोजगारी मुख्य चुनावी मुद्दाका रूपमा उभिएका छन्। खानले आफ्ना एजेन्डा कार्यान्वयनका लागि मतदातासँग सहयोग र समर्थनको अपिल गर्दै अभियानलाई तीव्र बनाउँदै लैजानुभएको छ।