रूपन्देही, फागुन १४ रूपन्देहीका रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाका विभिन्न वडामा चुनावी चहलपहल बढ्दै गएको छ। यसै सन्दर्भमा नागरिक उन्मुक्ति पार्टी नेपालले व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरेको छ। अभियानमा प्रत्यक्षतर्फका उम्मेदवार डा. उमाशंकर प्रसाद चौधरी र समानुपातिक उम्मेदवार किरण गुप्ता, समानुपातिक उम्मेदवार राज किशोर हरिजन, छेत्रीय इन्चार्ज राम कुमार चौधरीसहभागी हुनुभएको थियो। टोलीले घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष छलफल गर्दै पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी गराएको जनाएको छ।

घरदैलोका क्रममा डा. चौधरीले स्थानीय पूर्वाधार विकास, कृषि प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवामा सुधार आफ्नो प्राथमिकता रहेको बताउनुभयो। जनताको सुझावलाई आधार मानेर योजनाबद्ध रूपमा अघि बढ्ने उहाँको भनाइ थियो। यसैबीच समानुपातिक उम्मेदवार किरण गुप्ताले महिला अधिकार, लैङ्गिक समानता र विभेद अन्त्यको विषयलाई जोडदार रूपमा उठाउनुभयो। उहाँले महिलामाथि हुने विभिन्न प्रकारका भेदभाव अन्त्य गर्न कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै निर्णय प्रक्रियामा महिलाको समान सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो।

अभियानका क्रममा स्थानीय बासिन्दाले सडक, सिँचाइ, स्वास्थ्य सेवा र रोजगारीका विषयमा आफ्ना गुनासा तथा सुझाव राखेका थिए। पार्टी नेतृत्वले ती विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

