भैरहवा, माघ २८

ओमसतिया गाउँपालिकामा चौथो संस्करणको अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२/८३ आजबाट सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने सन्देशसहित आयोजना गरिएको प्रतियोगिता गाउँपालिका–२ को कर्मडाँडा खेल मैदानमा उद्घाटन समारोहबीच शुभारम्भ गरिएको हो।

गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र जिम्मेवारी बोधको विकास गराउँदै सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउँछ। स्थानीय सरकारले आगामी वर्षहरूमा पनि यस्ता खेल गतिविधिलाई निरन्तरता दिने उहाँको प्रतिबद्धता थियो।

उपाध्यक्ष सुनिता चौधरीले खेलकुदलाई सामाजिक परिवर्तनको प्रभावकारी माध्यमका रूपमा चित्रित गर्नुभयो। उहाँले युवाहरूलाई दुर्व्यसन र विकृतिबाट टाढा राख्न खेलकुदले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो। “युवालाई सही दिशा दिन खेलकुद अत्यावश्यक छ, किनकि आजका युवा नै भोलिका अगुवा हुन्,” उहाँले भन्नुभयो। खेल क्षेत्रलाई शिक्षासँग समन्वय गर्दै अघि बढाउनुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो।

महिला, दलित, सीमान्तकृत समुदाय तथा ग्रामीण भेगका युवालाई खेलकुदमा पहुँच सुनिश्चित गर्न विशेष योजना आवश्यक रहेको उपाध्यक्ष चौधरीको भनाइ थियो। पर्याप्त खेल पूर्वाधार र प्रशिक्षणको कमीले धेरै प्रतिभा बाहिर आउन नसकेको उल्लेख गर्दै उहाँले प्रतियोगिताले नयाँ खेलाडी पहिचान गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। गाउँस्तरका खेलाडीलाई प्रदेश र राष्ट्रिय तहसम्म पुर्‍याउने लक्ष्यका साथ पूर्वाधार विकासमा लगानी बढाइने जानकारी पनि दिइयो।

शिक्षा शाखा प्रमुख माधव राज पौडेलले स्वागत मन्तव्य दिँदै खेलकुदले सहकार्य, नेतृत्व र अनुशासन जस्ता जीवनोपयोगी गुण विकास गर्ने बताउनुभयो। कार्यक्रमका क्रममा वडा नम्बर ३ का अध्यक्ष प्रकाश सिंह चौधरीले पनि शुभकामना व्यक्त गर्नुभयो।

प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् भने उद्घाटन दिन दुई खेल तालिकाअनुसार सञ्चालन हुँदैछन्। विजेता टोलीले ६० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, अनुशासनमा उत्कृष्ट देखिने टोलीलाई विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।

स्थानीय तहको पहलमा सञ्चालन भइरहेको प्रतियोगिताले गाउँपालिकामा क्रिकेट खेलको विस्तार र युवाको रचनात्मक सहभागितालाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।