मर्चवार, फागुन १३      रुपन्देही–४ मा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक गतिविधि उच्च बिन्दुमा पुगेका छन्। उम्मेदवारहरू गाउँ–टोलमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन्। यसैबीच नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्राले पनि मर्चवार क्षेत्रमा व्यापक जनसम्पर्क अभियान अघि बढाउनुभएको छ।

उहाँले घरदैलो तथा साना–ठूला भेटघाट कार्यक्रममार्फत स्थानीय नागरिकका समस्या सुन्दै आफ्नो कार्ययोजना प्रस्तुत गरिरहनुभएको छ। मिश्राका अनुसार सडक पूर्वाधार सुधार, सिँचाइ व्यवस्थाको विस्तार, शिक्षण संस्थाको गुणस्तर अभिवृद्धि र स्वास्थ्य सेवाको पहुँच बढाउने विषय उनको प्राथमिक कार्यसूचीमा छन्। युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने योजनालाई पनि उनले विशेष जोड दिएका छन्। एक सञ्चारकर्मीसँगको कुराकानीमा उनले जनताको विश्वास जित्न परिणाममुखी काम आवश्यक रहेको बताए। “राजनीति केवल आश्वासनको माध्यम बन्नु हुँदैन, कामबाट प्रमाणित गर्नुपर्छ,” उनले भने, “यदि अपेक्षा अनुसार काम गर्न सकिनँ भने फेरि मत माग्न आउने छैन।”

उनको अभियानमा स्थानीयको उपस्थिति उत्साहजनक देखिएको छ। मतदाताले रोजगारी, कृषि तथा आधारभूत सेवामा सुधार चाहेको प्रतिक्रिया दिएका छन्। मिश्राले पनि आफू जनताको सुझावअनुसार योजनालाई परिमार्जन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी फागुन २१ गते हुने मतदानले रुपन्देही–४ को राजनीतिक दिशानिर्देश तय गर्नेछ। अहिलेका लागि भने मर्चवार क्षेत्रमा चुनावी सरगर्मी बढ्दै गएको छ।