मर्चवार, फागुन १७    आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रुपन्देही–४ मा चुनावी गतिविधि तीव्र हुँदै गएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार प्रमोदकुमार यादवले आफ्नो पक्षमा जनसमर्थन बढ्दै गएको दाबी गर्दै आगामी मतदानमा जीत सुनिश्चित हुने आत्मविश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार गाउँ–बस्तीमा घरदैलो र कोणसभा मार्फत भएको प्रत्यक्ष संवादले मतदातामा सकारात्मक प्रभाव पारेको छ। महिलादेखि युवासम्म र वरिष्ठ नागरिकसम्मको सहभागिताले यादवप्रति जनताको अपेक्षा र भरोसा देखाएको संकेत गरेको उहाँले बताउनुभयो।

यादवले स्थानीय समस्यामा ध्यान दिँदै विकास, रोजगार, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता क्षेत्रका दीर्घकालीन समाधान आवश्यक रहेको औँल्याउनुभयो। “अब केवल आश्वासन दिने समय होइन, वास्तविक समस्याको समाधान खोज्ने समय हो,” उहाँले भन्नुभयो। दोस्रो पटक रुपन्देही–४ बाट उम्मेदवार बन्नु भएको यादवले बढ्दो जनसमर्थनले जिम्मेवारी बढाएको र चुनावी अभियानमा ऊर्जा थपेको बताउनुभयो। उहाँका योजनामा सिंचाइ, सडक, शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रको समग्र विकास सुनिश्चित गर्ने लक्ष्य समावेश छ। त्यसका लागि रणनीति र दीर्घकालीन योजना आवश्यक रहेको यादवले जोड दिनुभयो। एमालेका स्थानीय नेता र कार्यकर्तासँगै गाउँ–गाउँमा सक्रिय रहेका युवाहरू पनि मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति र उम्मेदवारको प्रतिबद्धता प्रचार गरिरहेका छन्।

स्थानीय जनताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बलियो समर्थनका आधारमा यादव आफ्नो चुनावी सफलता सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभएको छ। यादवले मतदातासँग सहकार्य र विश्वास कायम राख्दै क्षेत्रको दीर्घकालीन समृद्धि र समग्र विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।