मर्चवार, फागुन १० आशुतोष मिश्र, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ का उम्मेदवार,ले क्षेत्रका जनताको सकारात्मक सहभागिताले आफूमै नयाँ उर्जा थपेको बताउनुभयो। शनिबार उहाँले कोटहीमाइ गाउँपालिका–३ का विभिन्न वडामा घरदैलो गर्दै जनता भेट्नुभएको थियो। यस क्रममा उहाँले जनताका समस्याहरू सुन्नुका साथै उनीहरूले आफूमाथि राखेको भरोसा र आशा पनि महसुस भएको उल्लेख गर्नुभयो।

उहाँले जनताका गुनासाहरूको आधारमा स्वास्थ्य, शिक्षा, कृषकका लागि मलखाद लगायतका सेवाहरू सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “आफ्नो प्रतिबद्धतापत्र अनुसार काम गर्न नसके आगामी निर्वाचनमा उम्मेदवारी नदिने छु,” उहाँले स्पष्ट पार्नुभयो। उहाँले रुपन्देही क्षेत्र नं. ४ लाई पर्यटकीय हबको रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो। विशेषतः मर्चवार र छपिया क्षेत्रमा ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै स्थानीय रोजगारी सृजना गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो।
सडक स्तरोन्नति र भित्री मार्गको विकास पनि प्राथमिकतामा रहने भएकोले वर्षायाममा हिलो र खाल्डाखुल्डीका कारण उत्पन्न हुने समस्या समाधानमा जोड दिइएको उहाँको भनाइ थियो। मिश्रले स्थानीय बासिन्दाका सुझाव र गुनासाहरूलाई गम्भीरतापूर्वक सुन्ने र दीर्घकालीन समाधानका लागि प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। निर्वाचित भए आधारभूत सेवाबाट वञ्चित नागरिकका समस्या प्राथमिकतामा राखेर परिणाममुखी काम गर्ने र क्षेत्रको समग्र विकासमा योगदान दिने उहाँको योजना रहेको जनाइएको छ।

