मर्चवार, फागुन १५     मर्चवारका गाउँबस्तीमा चुनावी गतिविधि बाक्लिँदै गए पनि यसपटकको माहोल केही शान्त र फरक देखिन्छ। ठूला जुलुस र चर्का नाराभन्दा घर–घरमा हुने साना छलफलले चुनावी वातावरणलाई आकार दिइरहेका छन्। यही परिवेशमा जनमत पार्टीका उम्मेदवार भोपेन्द्र यादवप्रति देखिएको ‘मौन समर्थन’ले रुपन्देही–४ को राजनीतिक समीकरणमा नयाँ संकेत देखाएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यादवले अघि सारेको विकासको स्पष्ट रूपरेखाले मतदाताबीच चर्चा पाएको छ। मर्चवार क्षेत्र अझै कच्ची सडक, सिँचाइ अभाव, कमजोर शैक्षिक पूर्वाधार र आधारभूत स्वास्थ्य सेवाको कमीबाट प्रभावित छ। वर्षामा हिलो र सुख्खा मौसममा धुलोले सताउने सडक समस्या यहाँका बासिन्दाका लागि पुरानै पीडा हो। यादवले भित्री सडकलाई मुख्य मार्गसँग जोड्दै स्तरीय कालोपत्रे गर्ने र यातायातको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

कृषिलाई मुख्य आधार मानेर उहाँले मलखादको सहज आपूर्ति, कालोबजारी नियन्त्रण, सिँचाइ सुविधा विस्तार र उत्पादनको बजार सुनिश्चिततामा जोड दिनुभएको छ। कृषिमा आधारित साना उद्योग स्थापना गरी युवालाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्राविधिक शिक्षालय स्थापना, सरकारी विद्यालय सुदृढीकरण तथा विशेषज्ञ चिकित्सकसहितको सेवा गाउँमै उपलब्ध गराउने लक्ष्य उहाँले दोहोर्याउँदै आउनुभएको छ। घरदैलोका क्रममा यादवले विकासमुखी राजनीतिप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै “मर्चवारको भविष्य निर्माण नै मेरो प्राथमिकता हो” भन्ने सन्देश दिइरहनुभएको छ। उहाँको सहज प्रस्तुतिले मतदातामा चासो र अपेक्षा बढाएको स्थानीयको भनाइ छ।

अब सबैको ध्यान मतपरिणामतर्फ केन्द्रित भएको छ। देखिएको मौन समर्थन मतपेटिकासम्म पुग्ने हो भने रुपन्देही–४ को राजनीतिमा नयाँ मोड आउन सक्ने विश्लेषण गरिएको छ। मर्चवारले खोजिरहेको विकासको आधार तयार हुन्छ कि हुँदैन भन्ने निर्णय अब मतदाताकै हातमा छ।