भैरहवा, फागुन १६ वैश्य समाजको पहिचान, उत्थान र सम्मानका लागि एक महत्वपूर्ण पहलस्वरूप शनिबार दिउँसो भैरहवा स्थित एक होटलको सभाहलमा राष्ट्रिय वैश्य महासंघ नेपालद्वारा होली मिलन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका करिब १७ वैश्य समाजका अध्यक्षहरूको सहभागिता रहेको थियो। महिला अध्यक्षहरूको समेत सक्रिय र प्रेरणादायी उपस्थिति देखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि भैरव कलवारले सम्बोधन गर्दै वैश्य समाज नेपालका कुल जनसंख्याको करिब ३५ प्रतिशत रहेको उल्लेख गर्नुभयो। आर्थिक तथा सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै कर तिर्ने मामिलामा समेत अगाडि रहे पनि समाजले अपेक्षित पहिचान र अधिकार नपाएको उहाँको भनाइ थियो।
वैश्य समाजका अध्यक्ष अमित गुप्ताले आपसी मतभेदलाई बिर्सेर संगठित रूपमा अघि बढ्नुपर्ने समय आएको बताउनुभयो। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको समग्र हितका लागि काम गर्नुपर्ने उहाँको जोड थियो। विशिष्ट अतिथिका रूपमा संयोजक अशोक शाह, व्यापार मण्डल अध्यक्ष नौतनवा सन्तोष जायसवाल, अजय गुप्ता, राजेन्द्र गुप्ता, नरेन्द्र प्रसाद रौनियार, पूनम जायसवाल लगायत समाजसेवीहरूले मन्तव्य व्यक्त गर्नुभयो। वक्ताहरूले वैश्य समाज एकजुट भई स्पष्ट उद्देश्यसहित अघि बढे देशकै सशक्त सामाजिक शक्तिका रूपमा स्थापित हुन सक्ने धारणा राख्नुभयो।
कार्यक्रममा राधेश्याम कसौधन, त्रिलोकी प्रसाद गुप्ता, विष्णु पटवा, बैजनाथ अग्रहरी, सन्तोष जायसवाल, भैरहवाका वर्तमान जायसवाल अध्यक्ष पारस केसरी, संजय कौशल, अजय गुप्ता, दुर्गा गुप्ता, मोहन बनिया, गंगासागर अग्रहरी, चन्द्रमोहन पटवा, भोला बनिया, श्याम किशोर शाह, गुरुचरण प्रजापति, आरती अग्रहरी, रामकेश गुप्ता, पूर्णिमा रौनियार, सन्दीप गुप्ता, रितेश बरनवाल, किरन गुप्ता लगायतले पनि विचार व्यक्त गर्नुभयो।
सबै वक्ताहरूले संगठनमै शक्ति निहित रहेको उल्लेख गर्दै संगठित नभएसम्म समाजले आफ्नो अधिकार प्राप्त गर्न कठिन हुने धारणा राख्नुभयो। वैश्य समाजले देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै अब सामाजिक र राजनीतिक अधिकार सुनिश्चित गर्न एकजुट हुनुपर्ने आवश्यकता औंल्याइयो। कार्यक्रमको समापन एकता र सहकार्यको प्रतिबद्धतासहित गरिएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रम सञ्चालन तारकेश्वर कांदूले गर्नुभएको थियो।

