सुनवल, फागुन १७     नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार भिम बहादुर थापाले क्षेत्र नम्बर २ मा सञ्चालन भइरहेको घरदैलो अभियानका क्रममा आगामी पाँच वर्षका लागि आफ्नो विकास दृष्टिकोण सार्वजनिक गर्नुभएको छ। मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले योजनाबद्ध र परिणाममुखी काममार्फत क्षेत्रको समग्र विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

२०७४ सालमा सुनवल नगरपालिकाको मेयर हुँदा अघि बढाइएका पूर्वाधार निर्माण, सरसफाइ व्यवस्थापन, सडक विस्तार र सार्वजनिक सेवा सुधारका अनुभवलाई उल्लेख गर्दै थापाले अब शिक्षा र स्वास्थ्य सेवा सुदृढीकरण, कृषि आधुनिकीकरण, रोजगारी प्रवर्द्धन तथा भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने बताउनुभयो। उहाँले “बोल्नेभन्दा काम गरेर देखाउने” कार्यशैली अपनाउने उल्लेख गर्दै विकासलाई नारामा सीमित नराखी कार्यान्वयनमा जोड दिने धारणा राख्नुभयो। अभियानमा पार्टीका नेता, कार्यकर्ता सक्रिय रूपमा परिचालित छन्। क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धा चर्किए पनि कांग्रेस समर्थकहरू जितप्रति आशावादी देखिएका छन् र उत्साहपूर्वक जनसम्पर्कमा जुटिरहेका छन्।