भैरहवा, फागुन १७ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट रुपन्देही–३ का प्रतिनिधि सभा उम्मेदवार फैज अहमद खाँले उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुभएको छ। भैरहवामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। छलफलका क्रममा बजारमा देखिएको मन्दी, बैंक ब्याजदरको चाप, सीमावर्ती व्यापारका जटिल प्रक्रिया, कर प्रणालीको अस्थिरता तथा आधारभूत पूर्वाधार अभावजस्ता विषय उठाइएका थिए। सहभागीहरूले व्यवसाय सञ्चालनमा देखिएका व्यावहारिक कठिनाइबारे आफ्ना धारणा राखेका थिए।

उम्मेदवार खाँले व्यवसायीहरूका सुझाव र जिज्ञासा सुन्दै आफू निर्वाचित भए उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सीमावर्ती सहर भैरहवाको आर्थिक सम्भावनालाई योजनाबद्ध ढंगले उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। “निजी क्षेत्र सशक्त नभएसम्म अर्थतन्त्र सबल हुन सक्दैन,” उहाँले भन्नुभयो, “नीतिगत स्थिरता, पारदर्शी कर व्यवस्था र पूर्वाधार विकासमार्फत उद्योगी–व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ।”

कार्यक्रममा सहभागी व्यवसायीहरूले पनि राजनीतिक दलहरूले घोषणामा मात्र सीमित नभई कार्यान्वयनमा दृढता देखाउनुपर्ने सुझाव दिएका थिए। प्रत्यक्ष संवादले उम्मेदवार र निजी क्षेत्रबीच आपसी समझदारी बढाएको सहभागीहरूको भनाइ थियो।

