भैरहवा, फागुन ६ रुपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला उम्मेदवार फैज अहमद खाँनले मतदातासँग प्रत्यक्ष भेटघाटलाई तीव्रता दिनुभएको छ। सिद्धार्थनगर नगरपालिका–२ र ११ मा आयोजित घरदैलो कार्यक्रममार्फत उहाँले आफ्ना प्राथमिकता र योजनाबारे जानकारी गराउँदै जनताको मुद्दा संसदसम्म पुर्याउने प्रतिबद्धता दोहोर्याउनुभयो। भेटघाटका क्रममा खाँनले सुशासनलाई मुख्य एजेन्डा बनाउँदै भ्रष्टाचारविरुद्ध कडा नीति अपनाइने स्पष्ट पार्नुभयो। नीति निर्माणदेखि कार्यान्वयनसम्म नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने गरी पारदर्शी संयन्त्र विकास गर्ने उहाँको भनाइ छ। भैरहवालाई पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने विषयलाई उहाँले उच्च प्राथमिकतामा राख्नुभएको छ। विमानस्थलको प्रभावकारी सञ्चालनले पर्यटक आगमन बढ्ने, होटल तथा सेवा क्षेत्रमा रोजगारी सिर्जना हुने र स्थानीय उत्पादनले बजार पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो। पर्यटन क्षेत्रमा लगानी सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

स्थानीय पूर्वाधार सुधारतर्फ भन्सार व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउने, ड्राइपोर्ट/आईसीपीलाई रेल सञ्जालसँग जोड्न पहल गर्ने तथा व्यापारिक गतिविधिलाई सहज बनाउने योजना उहाँले सार्वजनिक गर्नुभयो। शहरी व्यवस्थापन सुधारका लागि सिद्धार्थनगर–९ स्थित अटोभिलेजको प्रभावकारी सञ्चालन, सडक स्तरोन्नति, खानेपानी, ढल, विद्युत र सञ्चार पूर्वाधार विस्तारलाई तीव्रता दिने योजना अघि सारिएको छ। साथै रिङरोड र बाइपास मार्ग निर्माणलाई समेत प्राथमिकतामा राखिएको उहाँको भनाइ छ। शिक्षा क्षेत्रमा “एक पालिका, एक नमूना विद्यालय” अवधारणा लागू गर्दै सरकारी विद्यालयको शैक्षिक र भौतिक स्तर उकास्ने योजना प्रस्तुत गरिएको छ। विद्यार्थी भर्ना र अध्यापनमा आर्थिक सहयोग पुर्याउन अनुदानको व्यवस्था मिलाइने पनि उहाँले बताउनुभयो।

कृषि सुधारलाई उत्पादनमुखी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित मल–बीउको सहज उपलब्धता, सिँचाइ विस्तार, ट्युबेल निःशुल्क, बिचौलिया नियन्त्रण, कोल्ड स्टोर तथा कृषि बजार निर्माण जस्ता कार्यक्रम अघि सारिएको छ। स्वदेशमै मल कारखाना स्थापना गर्ने पहल तथा कृषि कर न्यूनिकरणको मुद्दा पनि उहाँले उठाउनुभएको छ। विपद् जोखिम न्यूनीकरणका लागि दानव, तिनाउ, घाघरा र डण्डा खोलामा दीर्घकालीन बाढी नियन्त्रण योजना लागू गर्ने प्रतिबद्धता जनाइएको छ। औद्योगिक क्षेत्र सुदृढ गर्न उद्योगमैत्री वातावरण तयार पार्दै विशेष आर्थिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।

वातावरण संरक्षणतर्फ स्रोतमै फोहोर वर्गीकरण, पुनर्चक्रण प्रवर्द्धन र वैज्ञानिक व्यवस्थापनमार्फत स्वच्छ शहर निर्माणको योजना अघि सारिएको छ। स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न “एक वडा, एक प्राथमिक उपचार केन्द्र” कार्यक्रम लागू गर्दै स्वास्थ्य चौकी र अस्पतालको स्तरोन्नति गरिने योजना पनि उहाँले सुनाउनुभयो। घरदैलो कार्यक्रमका क्रममा खाँनप्रति मतदाताको चासो र समर्थन बढ्दो देखिएको छ। विकास, रोजगारी र सुशासनलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको कार्ययोजनाले रुपन्देही–३ को समग्र रूपान्तरण सम्भव हुने अपेक्षा स्थानीयवासीले व्यक्त गरेका छन्।

