रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट उम्मेदवार रहेका महासचिव डा. उमा शंकर प्रसाद चौधरीले मतदाताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनले देशलाई अनिश्चयता र अनैतिकताबाट मुक्त गराएको बताउनुभयो। चुनावको मतगणना अझै जारी रहँदा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनिल लम्सालको विजयप्रति उहाँले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। साथै, देशव्यापी रूपमा रास्वपा पार्टीको अभूतपूर्व सफलतालाई स्वागत गर्दै प्रधानमन्त्री पदका प्रत्याशी बालेन शाहसहित विजयी भएका सम्पूर्ण प्रतिनिधिलाई सफलताको कामना गर्नुभएको छ। डा. चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा साथ दिने, शुभकामना दिने पार्टीका नेता तथा कार्यकर्ता सबैप्रति हृदयदेखि आभार व्यक्त गर्नुभएको छ र आगामी दिनमा पनि सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

