फाल्गुन २९
नेपाल आयल निगम लिमिटेड ले काठमाडौं उपत्यकामा पछिल्लो समय एलपी ग्यासको माग अत्यधिक बढेपछि ग्यासको आपूर्ति व्यवस्थापनका लागि अस्थायी व्यवस्था लागू गरेको जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नियमित रूपमा मागअनुसार एलपी ग्यास आयात तथा वितरण भइरहे पनि पछिल्लो दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग असामान्य रूपमा बढेको छ। यसैबीच मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी प्रभाव परेको निगमले जनाएको छ।
निगमका अनुसार नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने देश भारत मा समेत उपभोक्तालाई ग्यास प्राप्तिमा समस्या देखिएको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको पाइएको छ। हालको अवस्थालाई ध्यानमा राख्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन निगमले अस्थायी निर्णय गरेको हो। सो निर्णयअनुसार मिति २०८२ मंसिर २९ गतेदेखि अर्को निर्णय नभएसम्म १४.२ केजी एलपी ग्यास भएको सिलिन्डरमा ७.१ केजी मात्र ग्यास भरी प्रति सिलिन्डर आधा मूल्य (रु. ९५५) मा बिक्री वितरण गरिने निगमले जनाएको छ। निगमले आम उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगरी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न पनि अनुरोध गरेको छ।

