भैरहवा, फागुन १५ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नवलपरासी–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। गाउँ–बस्तीमा उम्मेदवारहरूको भेटघाट र छलफल बढेसँगै विकासका सवालमा बहस पनि चुलिएको छ। यसैक्रममा जनता समाजवादी पार्टी नेपालका क्षेत्र नम्बर २ का उम्मेदवार देवेन्द्र यादवले घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राख्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ।

बिहीबार उहाँ रामग्राम नगरपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीयका समस्या र सुझाव संकलन गर्नुभयो। शिक्षा, स्वास्थ्य सेवा, खानेपानी, ढल निकास र सडक पूर्वाधारको अवस्थाबारे स्थानीयले गुनासा राखेका थिए। आधारभूत सेवा अझै प्रभावकारी रूपमा नपुगेको विषय उठेपछि यादवले निर्वाचित भए ती मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने आश्वासन दिनुभयो।

घरदैलोका क्रममा भ्रष्टाचार नियन्त्रण र कामको पारदर्शिताबारे चासो व्यापक रूपमा व्यक्त भएको उहाँले बताउनुभयो। “सुशासनविना दिगो विकास सम्भव हुँदैन,” भन्दै उहाँले अनियमितताप्रति कडा नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाउनुभयो। इमानदार र जवाफदेही नेतृत्वको आवश्यकता औंल्याउँदै उहाँले परिणाममुखी काममार्फत विश्वास जित्ने धारणा राख्नुभयो।

कृषिलाई आर्थिक समृद्धिको आधार मान्दै यादवले मलखाद तथा बीउबिजनको समयमै उपलब्धता, उत्पादनको बजार सुनिश्चितता र आधुनिक प्रविधिको प्रयोगमार्फत कृषिमा रूपान्तरण ल्याउने योजना अघि सार्नुभयो। किसानका माग सम्बोधन गर्दै कृषि क्षेत्रमा संरचनागत सुधार गर्ने उहाँको भनाइ छ। यसैगरी, स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभयो। वैदेशिक रोजगारीको निर्भरता घटाउने लक्ष्यसहित युवालाई स्वदेशमै अवसर प्रदान गर्ने प्रतिबद्धता उहाँले दोहोर्याउनुभयो।

निर्वाचनको माहोल तातिरहेका बेला यादवले विकासका स्पष्ट एजेन्डासहित नवलपरासी–२ लाई व्यवस्थित र पूर्वाधार सम्पन्न क्षेत्रका रूपमा अघि बढाउने लक्ष्य व्यक्त गर्दै मतदातासँग समर्थनको अपिल गर्नुभएको छ।

