भैरहवा, फागुन १४ फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रुपन्देही–३ को राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। उम्मेदवारहरू घरदैलो, अन्तरक्रिया तथा विभिन्न समुदायस्तरीय भेटघाटमार्फत मतदातासँग नजिकिने प्रयासमा छन्। यसै सन्दर्भमा नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले पनि चुनावी अभियानलाई तीव्रता दिनुभएको छ।

बुधबार सिद्धार्थनगर नगरपालिका–७ का विभिन्न बस्तीमा पुगेर उहाँले मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो। स्थानीयका समस्या र सुझाव सुन्दै उहाँले उठेका विषयलाई प्राथमिकतामा राखेर समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। रुपन्देही खबरसँग कुराकानीका क्रममा गुरुङ्गले क्षेत्रका मूल मुद्दा पूर्वाधार र आर्थिक गतिविधिसँग जोडिएको बताउनुभयो। उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पहल गर्ने, एकीकृत भन्सार जाँच चौकी (आईसीपी) लाई प्रभावकारी बनाउने तथा विशेष आर्थिक क्षेत्र (सेज) को कार्यान्वयनलाई गति दिने योजना सुनाउनुभयो।

कृषि क्षेत्र सुधारलाई पनि उहाँले प्राथमिक एजेन्डाका रूपमा अघि सार्नुभएको छ। किसानले भोग्दै आएका मलखाद अभाव, गुणस्तरीय बीउबिजनको कमी, सिंचाइ समस्या तथा उत्पादनको उचित बजारीकरणजस्ता विषय समाधान गर्न नीतिगत पहल आवश्यक रहेको उहाँको धारणा छ। बिचौलिया नियन्त्रण र कृषकलाई प्रत्यक्ष लाभ पुग्ने व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

यसैगरी, लुम्बिनी को प्रवेशद्वारका रूपमा रहेको सिद्धार्थनगरलाई व्यवस्थित र आकर्षक सहरका रूपमा विकास गर्ने तथा बेलहिया नाका लाई थप व्यवस्थित बनाउँदै सेवा प्रवाहलाई चुस्त बनाउने लक्ष्य पनि उहाँले राख्नुभएको छ। क्षेत्र नम्बर ३ का सबै वडामा चरणबद्ध रूपमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जनाउँदै गुरुङ्गले निजी क्षेत्रसँग सहकार्य गर्दै शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सार्नुभयो। दीर्घकालीन पूर्वाधार विकास र योजनाबद्ध शहरीकरणमार्फत आधुनिक सहर निर्माण गर्ने उहाँको लक्ष्य रहेको छ।

निर्वाचनको माहोल तातेका बेला विकासका ठोस एजेन्डासहित मैदानमा उत्रिनुभएको गुरुङ्गले मतदातालाई फागुन २१ मा आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार जनताको साथ र सहभागिताले आफूलाई अझ जिम्मेवार बनाएको छ।

