भैरहवा, फागुन २१    प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर–१ मा कुल ६६.३२ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत कपिल पौडेलका अनुसार यस क्षेत्रमा ९७ हजार ३ सय ७७ मत खसेको विवरण प्राप्त भएको छ। मतदान सम्पन्न भइसकेपछि अहिले सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने काम भइरहेको छ। मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने समय तय गरिने निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा कुल १ लाख ४६ हजार ८ सय २४ मतदाता सूचीकृत रहेका थिए। निर्वाचनमा राजनीतिक दलका २० जना र स्वतन्त्र ११ जना गरी जम्मा ३१ उम्मेदवार प्रतिस्पर्धामा छन्।

निर्वाचन क्षेत्र नम्बर–१ मा देवदह नगरपालिकाका १२ वटै वडा, तिलोत्तमा नगरपालिकाका वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, रोहिणी गाउँपालिकाका सबै ७ वटा वडा तथा ओमसतिया गाउँपालिकाका वडा नम्बर १, ३, ४, ५ र ६ समेटिएका छन्। निर्वाचन क्षेत्र नम्बर–१ मा ४५ वटा मतदान स्थल र १५९ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयका प्रवक्ता कमल नेपालीले जानकारी दिएका छन्।