भैरहवा, फागुन १२ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका क्याप्टेन गौरव बोहराले भैरहवाका विपन्न नागरिकका लागि सुरक्षित आवास व्यवस्था गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडामा गरिएको घरदैलो अभियानका क्रममा उनले यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

टाटी तथा खर–बाँसले बनेका कच्ची घरमा बस्दै आएका परिवारहरूको अवस्था नजिकबाट अवलोकन गर्दै बोहराले आधारभूत आवासको अभावले धेरै नागरिक कष्टकर जीवन बिताउन बाध्य भएको उल्लेख गरे। “हरेक नागरिकको सुरक्षित घरको सपना हुन्छ, तर यहाँ अझै पनि धेरै परिवार वर्षा र घामबाट जोगिनसमेत संघर्ष गरिरहेका छन्,” उनले भने, “आर्थिक रूपमा कमजोर समुदायका लागि सुरक्षित र दिगो आवास निर्माण मेरो पहिलो एजेन्डा हो।”

उनले लालपुर्जा नभएका नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी स्वामित्व प्रमाणपत्र उपलब्ध गराउन पहल गर्ने पनि बताए। आवास कार्यक्रमसँगै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र फरक क्षमता भएका व्यक्तिहरूको अधिकार संरक्षण, साथै नगर क्षेत्रमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि उनले अघि सारे।vयी सबै कार्यक्रम स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा सम्बन्धित निकायसँग सहकार्य गर्दै कार्यान्वयन गरिने उनको भनाइ छ।

