भैरहवा, फागुन १४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रुपन्देही–३ प्रतिनिधिसभा सदस्य उम्मेदवार गौरव बोहरा ‘क्याप्टेन’ यतिबेला चुनावी अभियानमा व्यस्त रहनुभएको छ। उहाँले सियारी गाउँपालिका–१ तथा तिलोत्तमा नगरपालिका–१३ र १४ का विभिन्न टोलमा पुगेर घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ। घर–घरमा पुगेर मतदातासँग संवाद गर्दै बोहराले क्षेत्रका समस्या प्रत्यक्ष रूपमा सुन्ने र ती विषयलाई नै आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “जनताका आवश्यकता र सुझाव नै मेरो मार्गनिर्देशन हुन्,” उहाँले घरदैलोका क्रममा बताउनुभयो।

उहाँका अनुसार सरसफाइको अभाव, अव्यवस्थित ढल निकास र कमजोर तटबन्ध व्यवस्थापन रुपन्देही–३ का तत्काल समाधान गर्नुपर्ने मुद्दा हुन्। गाउँदेखि सहरसम्म फोहोर व्यवस्थापन र ढल प्रणाली प्रभावकारी नहुँदा जनस्वास्थ्यमा असर परेको उल्लेख गर्दै उहाँले दीर्घकालीन योजना बनाएर समस्या समाधान गर्ने धारणा राख्नुभएको छ। निर्वाचन नजिकिँदै जाँदा बोहराले प्रचार–प्रसारलाई थप तीव्र बनाउँदै घरदैलो, मोटरसाइकल र्याली तथा खुला भेटघाट कार्यक्रममार्फत दैनिक मतदातासँग सम्पर्क बढाइरहनुभएको छ।

नदी तथा जलस्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै तिनाउ, दानव र डण्डा खोलामा सुदृढ तटबन्ध निर्माण गरी बस्ती र खेतीयोग्य जमिन सुरक्षित गरिने उहाँको भनाइ छ। कृषकका समस्या समाधान, खेतीयोग्य भूमि संरक्षण, सहरी सरसफाइ अभियान र वैज्ञानिक फोहोर व्यवस्थापनमार्फत स्वच्छ तथा व्यवस्थित रुपन्देही–३ निर्माण गर्ने लक्ष्य बोहराले सार्वजनिक गर्नुभएको छ।

सुशासन र दिगो पूर्वाधार विकासलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्थानीय आवश्यकताअनुसार व्यवहारिक योजना कार्यान्वयन गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताउनुभयो। साथै उहाँले मतदातासँग सहयोग र समर्थनको आग्रह गर्नुभएको छ।

