कञ्चन, फागुन १५      रुपन्देहीको कञ्चन गाउँपालिकामा नेपाल मगर संघको ४४औं स्थापना दिवस विविध कार्यक्रमसहित उल्लासपूर्ण वातावरणमा मनाइएको छ। स्थापना दिवसका अवसरमा खेलकुद प्रतियोगिता, सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुति आयोजना गरिएको थियो। कार्यक्रमअन्तर्गत महिला भलिबल, तानडोरी, छेलोफाल तथा हण्डीफोर प्रतियोगिता सम्पन्न भए। साथै स्थानीय कलाकारहरूले परम्परागत भेषभूषामा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको उद्घाटन कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले मगर समुदायको भाषा, कला, संस्कृति र साहित्यको संरक्षण तथा पुस्तान्तरण अपरिहार्य भएको बताउनुभयो।

राज्यले समावेशी नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न अझै ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँको धारणा थियो। कञ्चनमा मगर समुदायको उल्लेखनीय जनसंख्या रहे पनि सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा अपेक्षित एकता र सशक्त उपस्थिति कमजोर बन्दै गएको उहाँले उल्लेख गर्नुभयो। वडा नं. ३ का अध्यक्ष टिकाराम सापकोटाले पछाडि पारिएका समुदायको राज्यका निकायमा पहुँच अझै सुदृढ हुन नसकेको टिप्पणी गर्दै शिक्षा, संगठन र आत्मविश्वासमार्फत सशक्त बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो। जिल्ला भूमि आयोग रुपन्देहीका सदस्य रामबहादुर थापा तथा नेपाल मगर संघ रुपन्देहीका पूर्व जिल्ला सदस्य दुर्गा बहादुर थापाले अधिकारका विषय भाषणमा मात्र सीमित नराखी नीतिनिर्माण तहसम्म प्रतिनिधित्व सुनिश्चित गर्न समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो। खेलकुदतर्फ महिला भलिबल प्रतियोगितामा सूर्यमुखी युवा क्लब कञ्चन प्रथम र क्रिएटिभ लुम्बिनी इङ्गलिस बोर्डिङ स्कुल कञ्चन–४ द्वितीय भएका छन्। महिला हण्डीफोरमा यमुना पुन तथा पुरुष हण्डीफोरमा निर्मल थापा विजेता घोषित भए। तानडोरीतर्फ बकुलघाट महिला समूह प्रथम र सुकेताल आमा समूह उपविजेता बने। पुरुष छेलोफाल प्रतियोगितामा अरदीप राना विजयी भएका थिए।

सांगीतिक प्रस्तुतिमा राष्ट्रिय लोक तथा दोहोरी गायक मिसन मगर र गायिका बिष्णु मगर्नीले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। स्थानीय कलाकारहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप रौनकता दिएको थियो। नेपाल मगर संघ कञ्चनको आयोजनामा तथा कञ्चन गाउँपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा मगर र गैरमगर समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। उपाध्यक्ष थमबहादुर सिंजालीको अध्यक्षता तथा धनसिंह रानाको सञ्चालनमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष कविराज काउचाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कञ्चन–२ गजेडी हाटबजारस्थित खेलमैदानमा आयोजित कार्यक्रममा संगम स्पोर्ट्स क्लब कञ्चन–२ को सहकार्यमा खुला रक्तदान कार्यक्रम तथा सैनामैना पोलिक्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।