भैरहवा, फागुन २ भैरहवामा आर्थिक अभावका कारण कृत्रिम हातखुट्टा जडान गर्न नसकेका व्यक्तिहरूलाई लक्षित गर्दै निःशुल्क शिविर सञ्चालन गरिने भएको छ। नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजना तथा मारवाडी सेवा समिति, भैरहवाको सहकार्यमा फागुन ७ देखि ९ गतेसम्म शिविर आयोजना गर्न लागिएको हो।
दुर्घटना वा अन्य कारणले हातखुट्टा गुमाएका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। संगठनले पत्रकार सम्मेलनमार्फत आवश्यक परेका व्यक्तिहरूलाई शिविरबाट लाभ लिन आग्रह गरेको छ। प्राविधिक टोलीले सहभागीहरूको नापजाँच गरी त्यसका आधारमा कृत्रिम अंग निर्माण गरिने जानकारी दिइएको छ। संगठनका अध्यक्ष मनोजकुमार अग्रवालका अनुसार फागुन ७ गते मारवाडी सेवा समितिको भवनमा प्राविधिकहरूले नाप लिने कार्यक्रम छ। फागुन ८ गते आवश्यक कृत्रिम हातखुट्टा तयार पारिने र ९ गते लाभग्राहीलाई वितरण गरिने कार्यतालिका तय गरिएको छ।
उनका अनुसार प्रारम्भिक चरणमा कम्तीमा ५० जनालाई कृत्रिम हातखुट्टा उपलब्ध गराउने लक्ष्य राखिएको छ। लाभग्राहीको संख्या बढेमा सोहीअनुसार व्यवस्थापन मिलाइने उनले बताए। मारवाडी सेवा समितिका सचिव हरिश सेठियाले भैरहवामा तेस्रो पटक यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिँदै सफलताका लागि दाताहरू र सहयोगीहरू सक्रिय रहेको उल्लेख गरे। शिविर व्यवस्थापनका लागि संगठनले यज्ञराज अग्रवाललाई राष्ट्रिय संयोजक तथा मनोज सिंघललाई स्थानीय संयोजकको जिम्मेवारी दिएको जनाएको छ।

