रुपन्देही, फागुन १०    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तर्गत जनता समाजवादी पार्टी नेपाल (जसपा) ले रुपन्देही क्षेत्र नं. १ मा तिलोत्तमा–१२, नौ नम्बर चोक र देवदह–८, शान्तिनगरमा नयाँ जनसम्पर्क कार्यालयहरू उद्घाटन गरेको छ। कार्यालयको उद्घाटन सावित्रा बिक, क्षेत्र नं. १ का उम्मेदवार मोहम्मद असलम खान र समानुपातिक उम्मेदवार बिजया खत्री ले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो। उद्घाटनको अवसरमा प्रमुख अतिथि सावित्रा बिकले निर्वाचनअघि मतदातासँग प्रत्यक्ष संवाद र समन्वयलाई बलियो बनाउन कार्यालय स्थापना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “जनतासँगको निकट सम्पर्कले हाम्रो अभियान अझ प्रभावकारी बनाउनेछ र क्षेत्रीय समस्याहरू संसदसम्म पुग्ने सुनिश्चित हुनेछ।

यसले पार्टी र स्थानीय समुदायबीचको दूरी घटाउनेछ।” कार्यक्रममा बोल्दै जसपा रुपन्देही जिल्ला अध्यक्ष रवि कुमार रौनियारले कार्यालयमार्फत संगठन विस्तार र जनआधार सुदृढ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामाजिक न्याय, समावेशी विकास र नागरिक अधिकारको संरक्षणमा पार्टीका उम्मेदवारलाई समर्थन गर्न मतदातालाई आह्वान गर्नुभयो। समानुपातिक उम्मेदवार बिजया खत्रीले महिला, युवा र सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उद्घाटन कार्यक्रममा क्षेत्रीय नेताहरू, पार्टी कार्यकर्ता र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीयहरूले नयाँ कार्यालय स्थापना भएपछि आफ्ना दैनिक समस्या र मागहरू सजिलै पार्टीसम्म पु¥याउन सक्ने अपेक्षा व्यक्त गरेका छन्। जसपाले यस माध्यमबाट मतदाता पहुँच विस्तार, जनसम्पर्क मजबुत पार्ने र निर्वाचनअघि क्षेत्रीय जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको जनाएको छ।