भैरहवा, फागुन १५   रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गौरव बोहरा यतिबेला सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न बस्तीमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ। उहाँले घर–घर पुगेर स्थानीय नागरिकका समस्या, सुझाव र अपेक्षा सुन्नुभएको छ। भेटघाटका क्रममा कृषिमा आधुनिक प्रविधिको कमी, प्रभावकारी सिँचाइ व्यवस्थाको अभाव, युवाको बेरोजगारी, सडक पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवाजस्ता विषयहरू उठेका छन्। स्थानीयले दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका यिनै मुद्दामा विशेष चासो व्यक्त गरेका थिए। उठेका सवालप्रति सकारात्मक धारणा राख्दै बोहराले ती विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। रुपन्देही–३ लाई पारदर्शी, सुशासित र विकास उन्मुख क्षेत्रका रूपमा अघि बढाउने स्पष्ट योजना आफूले तयार पारेको उहाँको भनाइ छ। जनसहभागितालाई केन्द्रमा राखेर निर्णय प्रक्रिया अघि बढाइने उहाँले उल्लेख गर्नुभयो।

घरदैलो अभियानमा पार्टीका नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता देखिएको छ भने स्थानीयको उत्साहजनक उपस्थितिले कार्यक्रम प्रभावकारी बनेको बताइएको छ। बोहराको सचिवालयका अनुसार आगामी दिनहरूमा पनि अन्य वडाहरूमा यस्ता संवाद कार्यक्रमलाई निरन्तरता दिइनेछ। निर्वाचनको मिति नजिकिँदै गर्दा रुपन्देही–३ मा उम्मेदवारहरू घरदैलो र जनभेटघाटमार्फत मतदातासँग सम्बन्ध सुदृढ गर्न सक्रिय देखिएका छन्।