काठमाडौं, फागुन १९     आज लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट करिब एक घण्टा देख्न सकिने भएको छ। ग्रहण अध्ययन समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार साँझ ६ः०३ बजे चन्द्रोदय हुँदासाथ चन्द्रमा ग्रहण लागेको अवस्थामै देखिनेछ। ग्रहण ७ः०२ बजे अन्त्य हुने भएकाले उक्त अवधिसम्म अवलोकन गर्न सकिनेछ।

खग्रास र खण्डग्रासबीच फरक-
पृथ्वीले सूर्यको प्रकाश पूर्ण रूपमा छेकेर चन्द्रमा पूरै अँध्यारो हुने अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ। तर चन्द्रमाको केही भाग मात्र पृथ्वीको छायाले ढाकिए खण्डग्रास चन्द्रग्रहण हुन्छ। सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्दा पृथ्वीको छाया चन्द्रमामा पर्ने भएकाले यस्तो खगोलीय घटना देखिन्छ। यस वर्ष नेपालबाट देखिने यो दोस्रो ग्रहण हो। यसअघि भदौ २२ गते खग्रास चन्द्रग्रहण देखिएको थियो।
धार्मिक मान्यता र सुतक-
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार चन्द्रग्रहण लाग्नु अघि तीन प्रहर, अर्थात् करिब नौ घण्टा अगाडिबाट सुतक लाग्ने विश्वास छ। बिहान ९ः०३ बजेदेखि बालबालिका, वृद्ध र बिरामी बाहेकलाई भोजन नगर्ने परम्परा रहेको उल्लेख गरिएको छ। ग्रहणको समयमा जप, तप, स्नान, ध्यान तथा धार्मिक पाठ शुभ मानिन्छ। प्राचीन ग्रन्थहरूमा ग्रहणका बेला नदी, पोखरी वा तीर्थस्थलमा स्नान गर्नुपर्ने उल्लेख पाइन्छ।

नाङ्गो आँखाले हेर्न सकिने-
नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार मौसम अनुकूल रहे देशभरिबाट ग्रहण स्पष्ट देख्न सकिन्छ। चन्द्रग्रहण अवलोकनका लागि विशेष उपकरण आवश्यक पर्दैन। घरको छत, खुला मैदान वा उचाइयुक्त स्थानबाट चन्द्रोदयसँगै हेर्न सकिन्छ।
वैज्ञानिक व्याख्या-
पृथ्वी सूर्यको परिक्रमा गर्दा चन्द्रमा पृथ्वी वरिपरि घुमिरहेको हुन्छ। कहिलेकाहीँ पृथ्वी सूर्य र चन्द्रमाबीच पर्ने हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्दछ, जसलाई चन्द्रग्रहण भनिन्छ। चन्द्रमाको आफ्नै प्रकाश नभई सूर्यको प्रकाश परावर्तित हुने भएकाले छायाले ढाकिँदा अँध्यारो देखिन्छ।


हरेक पूर्णिमामा ग्रहण नलाग्नुको कारण चन्द्रमाको कक्षा पृथ्वीको कक्षासँग करिब ५ डिग्री कोणमा झुकेको हुनु हो। चन्द्रकक्ष र पृथ्वीको कक्षीय धरातल काटिने दुई बिन्दुलाई ज्योतिषशास्त्रमा राहु र केतु भनिन्छ। आगामी सन् २०२६ मा विश्वभर दुई चन्द्रग्रहण र दुई सूर्यग्रहण हुने खगोलविद्हरूले बताएका छन्।