मर्चवार, माघ २७
रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक शक्तिपीठ मर्चवारी देवी मन्दिरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार घण्टी प्रदान गर्नुभएको छ।
मन्दिर परिसरमा आयोजित छोटो कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र सम्वर्द्धन सामूहिक जिम्मेवारी भएको बताउनुभयो। उहाँले मर्चवारी देवी मन्दिरको पहिचान राष्ट्रिय स्तरसम्म फैलिएको उल्लेख गर्दै यस्ता धार्मिक स्थलको संरक्षणले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
उक्त अवसरमा उहाँले आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै स्थानीय मतदातासँग राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्न आग्रह गर्नुभयो। मर्चवारी क्षेत्रको समग्र विकासप्रति पार्टी प्रतिबद्ध रहेको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा व्यावहारिक सुधार ल्याइने प्रतिबद्धता जनाउनुभयो। विकास, सुशासन र पारदर्शिता नै पार्टीको प्रमुख कार्यदिशा भएको उहाँको भनाइ थियो।
घण्टी हस्तान्तरण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, पार्टीका कार्यकर्ता, मन्दिर व्यवस्थापन समिति तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा मन्दिर व्यवस्थापन समितिले सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यस प्रकारका पहलहरूले धार्मिक सम्पदाको संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।