रानीगाउँ-१ सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, रानीगाउँ क्षेत्रमा पछिल्लो समय जथाभावी फोहोर फाल्ने समस्या गम्भीर बन्दै गएको छ। मुख्य सडक, नाला, तथा खोलाको किनारमा खुल्ला रूपमा घरायसी फोहोर, प्लास्टिकजन्य वस्तु तथा विशेषगरी कुखुराको प्वाँखहरू बोरामा हालेर फालिएको अवस्थामा भेटिएको छ। यसरी फालिएको फोहोरबाट अत्यन्तै दुर्गन्ध फैलिएको छ, जसका कारण स्थानीय बासिन्दाहरूलाई दैनिक हिँडडुल गर्न समेत समस्या भइरहेको छ। कुखुराको प्वाँखले भरिएका बोरा कुकुरहरूले च्यातेर सडकभरि छरपस्ट बनाएका छन्, जसले वातावरण झन् फोहोर र अस्वस्थ बनाएको छ। त्यस्तै, खोलो र नालामा पनि फोहोर फालिएको पाइएकाले पानीसमेत प्रदूषित बन्दै गएको छ, जसले दीर्घकालीन रूपमा जनस्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना बढाएको छ।

स्थानीयवासीका अनुसार सिद्धार्थनगर नगरपालिकाको फोहोर संकलन गर्ने ट्र्याक्टर नियमित रूपमा आउने गरे पनि केही व्यक्तिहरूको लापरवाहीका कारण सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने क्रम रोकिएको छैन। यसले “स्वच्छ नगर, सफा नगर” भन्ने नगरपालिकाको अभियानलाई चुनौती दिएको छ। सार्वजनिक स्थानमा फोहोर फाल्नु वातावरणीय तथा कानुनी रूपमा पनि गलत कार्य हो। यसले वातावरण प्रदूषण मात्र होइन, विभिन्न रोगहरूको जोखिमसमेत बढाउँछ। नगरपालिकाले पनि सार्वजनिक स्थान, सडक, नाला तथा खोलामा फोहोर वा फोहोर पानी फाल्ने कार्य नगर्न सबैलाई आग्रह गरेको छ। यदि कसैले सार्वजनिक स्थानमा जथाभावी फोहोर वा फोहोर पानी फालेको देखेमा तुरुन्तै सिद्धार्थनगर नगरपालिकामा जानकारी गराउन अनुरोध गरिएको छ। नगरपालिकाको नियम अनुसार यस्ता कार्यमा संलग्न व्यक्तिलाई रु. ५,००० सम्म जरिवाना गरिनेछ र आवश्यक परे कानुनी कारबाही समेत गरिनेछ। स्वच्छ र स्वस्थ वातावरण कायम राख्नका लागि प्रत्येक नागरिकको जिम्मेवारी महत्त्वपूर्ण हुन्छ। त्यसैले सबैले सचेत भई आफ्नो वरपरको वातावरण सफा राख्न सहयोग गर्नु आवश्यक देखिएको छ।


