रुपन्देही फाल्गुन १० आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्र बनाएका छन्। विभिन्न दलका केन्द्रीय नेताहरू देशका विभिन्न जिल्लामा पुगेर चुनावी सभा, भेटघाट तथा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। यही अभियानअन्तर्गत जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सञ्चालन गरिरहेको ‘संकल्प यात्रा’ कार्यक्रम अन्तर्गत पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव भोलि (११ गते) रुपन्देही क्षेत्र नं. ४ को परसहवामा आउने कार्यक्रम तय भएको छ।

जसपा रुपन्देहीले सार्वजनिक गरेको जानकारीअनुसार परसहवामा आयोजना गरिने चुनावी संकल्प सभामा अध्यक्ष यादव प्रमुख वक्ताका रूपमा सहभागी भई कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्नेछन्। पार्टीका अनुसार सभामा रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला, लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे लगायतका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले सामाजिक सञ्जालमार्फत कार्यक्रमको जानकारी सार्वजनिक गर्दै परसहवा तथा आसपासका क्षेत्रका मतदाता, शुभेच्छुक र पार्टी समर्थकहरूलाई सभामा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन्। उनले रुपन्देही–४ को समग्र विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आफू उम्मेदवारी दिएको उल्लेख गरेका छन्।
जसपा नेपालले ‘संकल्प यात्रा’ मार्फत सुशासन, सामाजिक न्याय, समावेशी विकास र संघीयताको सुदृढीकरणका एजेन्डा अघि सारेको जनाएको छ। पार्टीका केन्द्रीय नेताहरूको सक्रिय उपस्थितिले रुपन्देही–४ मा चुनावी माहोल थप तातेको स्थानीय कार्यकर्ताहरूले बताएका छन्। चुनाव नजिकिँदै जाँदा विभिन्न दलहरूबीच प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा भोलिको सभा रुपन्देही–४ का लागि महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा हेरिएको छ। सभामा उल्लेख्य जनसहभागिता हुने जसपा रुपन्देहीले अपेक्षा गरेको छ।

