धकधई, फागुन २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह आज रुपन्देही आइपुगेका छन्। पार्टीद्वारा आयोजित ‘घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम’मा सहभागिता जनाउन उनी यहाँ आएका हुन्। शाहको उपस्थितिले रुपन्देहीमा रास्वपाको चुनावी गतिविधिलाई थप सक्रिय बनाउने विश्वास गरिएको छ। भ्रमणअन्तर्गत उनले रुपन्देही क्षेत्र नम्बर १ को धकधईमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

पार्टीका नेताहरूले उनको आगमनले क्षेत्र नम्बर १ मा संगठन सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। रास्वपाका लुम्बिनी प्रदेश सदस्य तथा रुपन्देही क्षेत्र नम्बर १ का प्रचार–प्रसार संयोजक प्रेम खत्रीका अनुसार शाह अपरान्ह करिब ४ बजे धकधई पुग्ने कार्यतालिका रहेको छ। यस भ्रमणमार्फत स्थानीय तहमा पार्टीको सक्रियता बढ्दै जनसम्पर्क अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

