काठमाडौँ, चैत ५
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले भोलि चैत ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न स्थानमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरी आउने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले केही क्षेत्रमा मौसम प्रतिकूल हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो। प्राधिकरणका अनुसार अत्यावश्यक काम बाहेक यात्रामा ननिस्कन, हावाहुरी चल्दा घरका झ्याल–ढोका सुरक्षित रूपमा बन्द गर्न तथा आगलागी हुन सक्ने स्रोतहरू नियन्त्रणमा राख्न आग्रह गरिएको छ। सवारी साधन सञ्चालन गरिरहेका व्यक्तिलाई पनि हावाहुरीको समयमा सुरक्षित स्थानमा रोकेर बस्न सुझाव दिइएको छ।

त्यस्तै, भीडभाड भएका स्थानमा रहेका नागरिकलाई नआत्तिन र भागदौड नगरी संयमित रूपमा सुरक्षित स्थानतर्फ सर्न भनिएको छ। हावाहुरीका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन तथा बिजुलीका खम्बा र तार नजिक बस्न नहुने प्राधिकरणले जनाएको छ। लत्रिएको बिजुलीको तार नछुन, विद्युतीय उपकरण प्रयोग नगर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन समेत अनुरोध गरिएको छ। प्राधिकरणले मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा पछ्याउँदै आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ।