भैरहवा १ रुपन्देही जिल्लामा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। विभिन्न राजनीतिक दलहरू यतिबेला घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त छन्। यसै क्रममा नागरिक उन्मुक्ति पार्टी नेपाल ले पनि आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ। पार्टीका प्रत्यक्ष उम्मेदवार डा. उमा शंकर प्रसाद चौधरी र समानुपातिक उम्मेदवार किरन गुप्ता सहितको टोलीले क्षेत्र नं. १ अन्तर्गत पर्ने तिलोत्तमा नगरपालिका का विभिन्न वडाहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। अभियानका क्रममा नेताहरूले घर–घरमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए। घरदैलो कार्यक्रममा डा. चौधरीले नागरिकको आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकास साथै भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयता समुदायमा आधारित समाजवादलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व सुनिश्चित गर्दै सबै समुदायको आवाज संसदसम्म पुर्याउने लक्ष्य रहेको बताउनुभयो।

त्यसैगरी, समानुपातिक उम्मेदवार किरन गुप्ता ज्यूले पार्टीको एजेन्डा, सामाजिक न्याय, समावेशी विकास र सुशासनको विषयमा मतदातालाई जानकारी गराउनुभयो। उहाँले स्थानीय समस्याको साथै महिला प्रतिको विभेद लाई अन्त्य गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्ध रहेको धारणा राख्नुभयो। तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा सम्पन्न कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले खानेपानी, सडक स्तरोन्नति, युवा रोजगारी र कृषि क्षेत्रमा सहयोगका विषय उठाएका थिए। उम्मेदवारहरूले ती सबै विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिएका छन्।

चुनावी अभियान अन्तर्गत नागरिक उन्मुक्ति पार्टी नेपालले आगामी दिनहरूमा पनि क्षेत्र नं. १ का अन्य स्थानहरूमा भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। चुनाव नजिकिँदै जाँदा गाउँ–गाउँमा चुनावी चहलपहल थप बढ्दै गएको छ, र मतदाताहरू पनि आफ्ना प्रतिनिधि छनोट गर्न सचेत रूपमा तयारी गरिरहेका छन्।


