फाल्गुन ३०
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार गौरव बोहराले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका बोहराले निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन अवधिमा भएको खर्चको विवरण पेश गरेका हुन्। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा बुझाइएको विवरणअनुसार मनोनयन दर्ता, मतदाता नामावली फोटोकपी, सवारी साधन भाडा तथा इन्धन, चुनावी सभा, प्रचार–प्रसार, प्रचार सामग्री छपाइ, कार्यालय सञ्चालन लगायत विभिन्न शीर्षकमा खर्च गरिएको उल्लेख गरिएको छ।
पेश गरिएको विवरणअनुसार उम्मेदवार बोहराले निर्वाचन अवधिभर १८ लाख ६३ हजार ६१५ रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। निर्वाचन आयोगको प्रावधानअनुसार सबै उम्मेदवारले निर्वाचनपछि आफ्नो खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ। उक्त खर्च विवरण उम्मेदवारका निर्वाचन प्रतिनिधि बलराम शर्मामार्फत जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको जनाइएको छ।

