भैरहवा, फागुन ६ रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गोपाल भण्डारीले प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेका छन्। बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै अबको समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहरालाई रहने घोषणा गरे। भण्डारीले आफूले सुरुमा स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रने निर्णय गरे पनि पछिल्लो राजनीतिक परिस्थितिको मूल्यांकनपछि नयाँ निर्णयमा पुगेको बताए। उनका अनुसार राप्रपाले अघि सारेका एजेन्डा र आफ्ना व्यक्तिगत राजनीतिक धारणा तथा सामाजिक उद्देश्यबीच उल्लेखनीय समानता रहेकाले सहकार्य उपयुक्त हुने निष्कर्षमा पुगेका हुन्। उनले विशेषगरी धर्म, संस्कार र परम्परासँग जोडिएका विषय, विकास निर्माणका प्राथमिकता तथा सुशासनको सवालमा आफू र राप्रपाबीच समान दृष्टिकोण रहेको उल्लेख गरे।

उनले वैदिक सनातन हिन्दु राष्ट्रको पुनर्स्थापना, राजसंस्थाको पुनरागमन, संघीय संरचनाको खारेजी र २०४६ सालयता भएका भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिनसहित कडा कारबाहीको पक्षमा आफ्नो स्पष्ट धारणा रहेको दोहोर्याए। यी विषयहरूमा राप्रपाले सार्वजनिक रूपमा लिएको अडानप्रति आफू सकारात्मक रहेको उनको भनाइ थियो। भण्डारीले निर्वाचन प्रक्रियालाई मर्यादित र विचारकेन्द्रित बनाउन आवश्यक रहेको बताउँदै मतदाताले भावनात्मकभन्दा पनि नीतिगत आधारमा निर्णय गर्नुपर्ने धारणा व्यक्त गरे। उनले रुपन्देही–३ मा गौरव बोहरालाई विजयी गराउन आफू सक्रिय रूपमा चुनावी अभियानमा सहभागी हुने जानकारी दिए। आफ्ना समर्थक, शुभेच्छुक तथा समान विचारधारा राख्ने नागरिकलाई सम्बोधन गर्दै उनले अबको चुनावी अभियानमा एकजुट भएर लाग्न आह्वान गरे। साथै, राष्ट्रहित, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त बनाउन मतदानमार्फत आफ्नो अभिमत प्रकट गर्न मतदातालाई आग्रह गरे।


