बर्दघाट, फागुन ५ पश्चिम नवलपरासी क्षेत्र नं. १ मा चुनावी समीकरण फेरिएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिनोद रेग्मीले नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ। सोमबार जारी प्रेस विज्ञप्तिमा रेग्मीले वर्तमान राष्ट्रिय परिस्थिति, मतदाताको भावना तथा राजनीतिक स्थायित्वको आवश्यकतालाई दृष्टिगत गर्दै कांग्रेसलाई साथ दिने निर्णय गरेको उल्लेख गर्नुभएको छ। उहाँले देश र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेस उपयुक्त राजनीतिक शक्ति भएको निष्कर्षसहित आफ्नो उम्मेदवारीको अडान परिवर्तन गरेको जनाउनुभयो। साथै, आफ्नो पारिवारिक आस्थासमेत कांग्रेससँग जोडिएको उल्लेख गर्दै उहाँले पार्टीका उम्मेदवार चौधरीलाई पूर्ण समर्थन रहने स्पष्ट पार्नुभएको छ।

रेग्मीले आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई ‘रुख’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै परिवर्तनको निरन्तरता र लोकतन्त्रको मजबुतीका लागि कांग्रेसलाई विजयी गराउन आह्वान गर्नुभएको छ। क्षेत्र नं. १ मा कांग्रेसको पक्षमा देखिएको जनसमर्थनलाई सम्मान गर्दै समर्थनको निर्णय लिएको उहाँको भनाइ छ। २०७९ सालमा यही क्षेत्रबाट निर्वाचित कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी विकास र आर्थिक रूपान्तरणलाई मुख्य एजेन्डा बनाउँदै पुनः चुनावी प्रतिस्पर्धामा छन्। रेग्मीको समर्थनपछि क्षेत्र नं. १ मा कांग्रेसको चुनावी अवस्था थप सुदृढ भएको राजनीतिक वृत्तमा चर्चा गरिएको छ।

